बागमती प्रदेश विश्वविद्यालय र ५ वटा आंगिक क्याम्पसबीच सम्झौता
२६ मंसिर, हेटौँडा । प्रदेश गौरव आयोजनाका रूपमा रहेको बागमती प्रदेश विश्वविद्यालयले आफ्ना शैक्षिक गतिविधि सञ्चालनका लागि ५ वटा आंगिक क्याम्पससँग सम्झौता गरेको छ ।
शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमको बीच ५ वटा आंगिक क्याम्पससंग सम्झौता गरिएको हो । चितवनको भुवानी शंकर बहुमुखी क्याम्पस र माडी क्याम्पस, काठमाडौँको जनमैत्री बहुमुखी कलेज र कपन बहुमुखी क्याम्पस, बनेपाको चैतन्य बहुमुखी क्याम्पससंग सम्झौता गरिएको हो । सम्झौतापत्रमा विश्वविद्यालयका उपाध्यक्ष डा.कुसुमराज सुवेदी र सम्बन्धित क्याम्पसका प्रमुखहरुले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, विश्वविद्यालय संरक्षण संमितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल लगायतको उपस्थितिमा सम्झौता भएको हो ।
सम्झौता कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको लक्ष्य र उद्देश्य अनुरुप विश्वविद्यालय चल्नुपर्ने बताउनुभयो । विश्वविद्यालयले एउटा स्वरुप लिइसकेको बताउनुहुँदै उहाँले अब यसलाई गतिशील ढंगले सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले बेरोजगार जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई हटाउनुपर्ने बताउनुभयो । उत्पादन र प्रविधिसंग जोडेर गरिखाने शिक्षा प्रणाली लागु गर्न उहाँले विश्वविद्यालयलाई निर्देशन दिनुभयो । जीवनयापनमा समेत परिवर्तन ल्याउने पाठ्यक्रम निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी सामाजिक विकास मन्त्री बादेले प्रदेशको शिक्षामा नमुनायोग्य काम भएको बताउनुभयो । प्रदेशको एकल अधिकारको प्रयोग गर्ने सन्दर्भमा आंगिक क्याम्पसकहरुसंग सम्झौता भएको उहाँको भनाई छ । मन्त्री बादेले सम्झौता भएका क्याम्पसहरुले गरी खाने शिक्षा नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका संरक्षक समितिको मार्गनिर्देशन अनुसार समाजका अन्य विश्वविद्यालय भन्दा फरक ढंगले सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभयो । मन्त्री बादेले सक्षम जनशक्तिहरु उत्पादन हुने गरी शैक्षिक कार्यक्रमहरु विश्वविद्यालयले तय गर्नुपर्ने बताउनुभयो ।
मंसिर ९ गतेको मन्त्रीपरिषद् बैठकले विश्वविद्यालयको शैक्षिक कार्यक्रम तत्काल सञ्चालनका लागि प्रदेशका ६ वटा क्याम्पससँग सम्झौता गर्ने निर्णय गरेपनि शुक्रबार ५ वटा क्याम्पससँग मात्र सम्झौता गरिएको हो । हेटौंडा क्याम्पससँग पनि चाँडै सम्झौता हुने तयारी भइरहेको जनाइएको छ । प्रदेश उच्च शिक्षा परिषद्को सिफारिसअनुसार २०८१ सालमा बागमती प्रदेश विश्वविद्यालय स्थापना भएको थियो । सम्झौता सम्पन्न सँगै उक्त क्याम्पसहरु विश्व विद्यालयको प्रत्यक्ष प्रशासनिक तथा शैक्षिक संरचना अन्तर्गत संचालन हुनेछ ।













