आफनो अधिकारको कुरा गर्दा अर्काको अधिकार हनन गर्न पाइँदैनः उपसभामुख चापागाई

स्वर्णिम खबर
२५ मंसिर २०८२, बुधबार १९:०८

२४ मंसिर, हेटौँडा । बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले आफनो अधिकारको कुरा गर्दा अर्काको अधिकार हनन गर्न नहुने बताउनुभएको छ ।
बोल्ने अधिकार छ भन्दै दिने अभिव्यक्ति र गर्ने क्रियाकलापले अर्को पक्षको अधिकारको हनन नहोस् भन्ने तर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित मानव अधिकार र आम निर्वाचन विषयक अन्तरपुस्ता संवाद कार्यक्रममा उपसभामुख चापागाईले अधिकार आफुमा मात्र केन्द्रित गर्न खोज्ने प्रवृति देखापर्न थालेको बताउनुभयो ।
अधिकारलाई आफुभन्दा तल्लो तहमा पनि प्रत्यायोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपसभामुख चापागाईले समाजका पिछडिएको वर्गहरुको मानव अधिकारको संरक्षण गर्नुपर्नेमा सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । बोली र व्यवहार फरक पर्दा शक्तिशाली वर्गहरुकै अधिकारको संरक्षणमा बहस हुन थालेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।
उपसभामुख चापागाईले अधिकारलाई कानुनी रुपमै स्पष्ट गर्नुपर्ने बताउनुभयो । प्रदेशसभाले निर्माण गरेका कानुनहरुको संशोधन र कार्यान्वयनमा सरोकारवालाहरुसंग पर्याप्त छलफल भएको समेत उहाँले उल्लेख गर्नुभयो । उपसभामुख चापागाईले मानव अधिकारको सवालमा उठेका विषयहरुलाई जिम्मेवारीका साथ प्रभावकारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जेनजी युवाहरुले हेटौंडामा सडक विस्तारको क्रममा प्रशासनले मानव अधिकारको चरम उल्लङघन गरेको आरोप लगाएका थिए । सडक विस्तारमा अवरोध नगर्न युवाहरुलाई प्रशासनले अनेक धम्की दिएको समेत उनीहरुको आरोप थियो ।
सोही आरोपलाई खण्डन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले त्यसमा कुनै किसिमको सत्यता नभएको स्पष्ट पार्नुभयो । सडक विस्तार गर्ने काम प्रशासनको नभई सडक डिभिजनको भएकोले आफुहरुले सहजीकरण मात्र गरेको उहाँको भनाई छ । सर्वोच्च अदालतको आदेश र हेटौंडा बासीको माग अनुसार नै कानुन सम्मत तरिकाले सडक विस्तार भएको उहाँको दाबी छ ।
सहायक प्रजिअ जोशीले सुरक्षाको प्रत्याभुति गराउनु बाहेक आफुहरुको अरु कुनै उद्देश्य नरहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*