लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचनः प्रधानमन्त्री कार्की
२४ मंसिर, काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको बताउनुभयो । फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको प्रधानमन्त्री कार्कीको दाबी छ ।
समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न उहाँले आह्वान समेत गर्नुभयो । प्रधानमन्त्री कार्कीले सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन आग्रह गर्नुभयो । निर्वाचन लोकतान्त्रिक अनुष्ठान भएकाले यसलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नसमेत अनुरोध गर्नुभयो ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौति भ्रष्टाचार भएको बताउनुभयो । भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभइ विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको उहाँको धारणा छ ।
सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनवद्धता व्यक्त गरेको उहाँले बताउनु भयो । प्रधानमन्त्री कार्कीले पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन नसक्न्े भन्दै यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेन–जी) ले मानव अधिकारलाई कानूनी ग्रन्थमा सिमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको बताउनु भयो ।













