‘भ्रष्टाचार न्युनिकरणमा सबैको सामुहिक प्रयास जरुरी’

स्वर्णिम खबर
२४ मंसिर २०८२, मंगलवार १७:०६

२३ मंसिर, हेटौँडा । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजना एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा स्थित कार्यालयको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिब बाबुराम गौतम र अख्तियार हेटौंडाका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तीन वटै तहमा भइरहेका भ्रष्टाचारका प्रवृद्धि, अब सचेत हुनुपर्ने विषय, चालु आर्थिक वर्षमा परेका उजुरी लगायतका विषयहरु कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव गौतमले सुचना प्रविधिको तीव्रतर विकाससंगै भ्रष्टचारको स्वरुप बदलिँदै गएको बताउनुभयो । भ्रष्टाचारले समाजको हरेक क्षेत्रमा असर गरिरहेको उहाँको भनाई छ । सचिव गौतमले भ्रष्टाचार न्युनिकरणमा संघ, प्रादेशिक र स्थानीय सरकारको सामुहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । पारदर्शीता, नैतिकता र जवाफदेहिता सरकारको हरेक कदममा आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो । सचिव गौतमले बागमती प्रदेश सरकारको सुशासन प्रतिको प्रतिबद्धता अझ जरुरी रहेको धारणा राख्नुभयो ।
त्यसैगरी अख्तियारका कार्यालय प्रमुख पुडासैनीले सुशासन प्रवद्र्धनको लागि सार्वजनिक सेवा प्रवाहमा चुस्तता र सहजता ल्याउनुपर्ने बताउनुभयो । शासकीय संरचना र कानुनमा समयानुकुल सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । योजना तर्जुमा, बजेट विनियोजन तथा आयोजना व्यवस्थापनमा प्रभावकारिता ल्याउनुपर्ने समेत उहाँले बताउनुभयो । भ्रष्टाचार न्युनिकरणको लागि सार्वजनिक खरिद व्यवस्थापनमा सुधार गर्नुपर्ने बताउँदै प्रमुख पुडासैनीले यथार्थपरक विश्लेषण र औचित्यको आधारमा सुचना प्रविधि प्रणालीको छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले भ्रष्टाचारलाई पूर्णरुपमा निर्मुल पार्न नसकिए पनि न्युनिकरण गर्न सबैको सामुहिक प्रयास जरुरी रहेको बताउनुभयो । अख्तियारमा परेका उजुरी, अदालतमा रहेका मुद्धाहरुबाट भ्रष्टाचार न्युनिकरणको प्रयास पर्याप्त नदेखिएको उहाँको भनाई छ । समाजमा भएका सबै अनियमितताहरु अख्तियारमा पुग्न नसकेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले अख्तियारले अनुसन्धान गर्ने प्रक्रियामा सुधार गरी तथ्यपरक र यथार्थपरक बनाउनुपर्ने बताउनुभयो । प्रमुख सचिव अधिकारीले भ्रष्टाचार गर्ने अवसर धेरै हुँदा भ्रष्टाचार बढेको बताउनुभयो । सरकारको नीति, कार्यक्रम, कानुन भ्रष्टाचार गर्ने अवसरलाई नै बन्द गर्ने तर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेशका मन्त्रालयका सचिबहरु, निर्देशनालय, जिल्ला स्तरका कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । आयोगको ३५ औं वार्षिक प्रतिवेदनको अनुसार बागमती प्रदेशमा उजुरीको समग्र संख्या ११ हजार २ सय २७ रहेको छ । यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको नारा, ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँः भोलीको इमान्दार समाज निर्माण गरौँ’ भन्ने रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*