अदालतको पत्र प्राप्त गरेसंगै हेटौंडामा सडक विस्तार कार्य रोकियो

स्वर्णिम खबर
२२ मंसिर २०८२, आईतवार १७:३६

२१ मंसिर, हेटौँडा । हेटौँडा बजारको २५–२५ गज मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित भएको छ ।
आइतबार सडक डिभिजन कार्यालय हेटौँडाले पत्रकार सम्मेलन गरी विस्तार कार्य तत्कालको लागि स्थगित भएको जानकारी दिएको हो । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वाेच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न मंसिर १९ गते उत्प्रेषण आदेश दिएको थियो ।
पूर्व सांसद् सदस्य समेत रहनुभएकी स्थानीय विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले शुक्रबार सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौंडाको नाममा आदेश दिएको हो । शुक्रबार अदालतको आदेश प्राप्त नभएको दाबी गर्दै प्रमुख अधिकारीले आइतबार आदेश प्राप्त भएसंगै विस्तार कार्य स्थगन गरेको जनाएको छ ।
शनिबार एकैदिन ७ किलोमिटर सडक सीमाभित्र पर्ने ५ सय घरटहराहरु सांकेतिक रुपमा भत्काएको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । भत्काइएको घरबाट सामान निकाल्न दुई दिनको समय दिइएको उहाँले बताउनुभयो ।
सडक डिभिजनले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५÷२५ गज विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*