हेटौँडामा सडक विस्तारः ५ सय ३१ घर भत्किने

स्वर्णिम खबर
१५ मंसिर २०८२, आईतवार १७:५८

१४ मंसिर, हेटौँडा । सडक विस्तारको क्रममा हेटौंडा उपमहानगरपालिकामा ५ सय ३१ घरटहरा प्रभावित हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५ सय ३१ घरटहरा भत्किने भएका छन् । सडक डिभिजन कार्यालय हेटौंडाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सडकको दायाँतर्फ २ सय ३४ र बायाँतर्फ २ सय ९७ संरचना भत्किने जानकारी दिएको छ । कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६ दशमलब ३ किलोमिटर र बुद्धचोक देखि सामरी पुलसम्म ३ दशमलब २ किलोमिटर गरी कुल ९ दशमलब ५ किलोमिटर सडक विस्तार हुनेछ । हालसम्म कार्यालयमा सडक विस्तारबाट पूर्ण रुपमा घरबिहिन हुन्छु भनेर कसैले पनि निवेदन नदिएको उहाँले बताउनुभयो ।


प्रमुख अधिकारीले सडक विस्तारको लागि आवश्यक इक्युप्मेन्टहरु तयारी अवस्थामा रहेको बताउनुभयो । सरकारी निकायदेखिसुरक्षा संयन्त्रसंग पर्याप्त मात्रामा छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
प्रमुख अधिकारीले २५ दिनभित्र संरचना भत्काइ सक्ने र त्यसपश्चात डिपिआर बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । सडक विस्तारको क्रममा निस्कने फोहोरलाई उचित तरिकाले व्यवस्थापन गरिने समेत उहाँले बताउनुभयो । सवोच्च अदालतको मिति २०८० पुस १७ गतेको फैसलालाई टेकेर आफुहरुले काम गरेको पनि उहाँले जिकिर गर्नुभयो । प्रमुख अधिकारीले संरचना भत्काउने क्रममा धार्मिक आस्थासंग जोडिएको संरचनालाई क्षति नपु¥याउने स्पष्ट पार्नुभयो ।
सडक विस्तारको क्रममा पछि स्थानान्तरण गर्ने उहाँले बताउनुभयो । प्रमुख अधिकारीले वातावरणीय प्रभावलाई समेत ध्यान दिएर काम अघि बढाउने बताउनुभयो । तोकिएको अवधि सम्ममा सरंचना खाली नगरे कानुनी कारबाहि प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।
२०७३ यता चार पटकसम्म सूचना निस्किएर पनि सडक विस्तार गर्न नसकेको सडक डिभिजनले ‘अन्तिम सूचना’ को संज्ञा दिँदै सडक सीमाभित्र निर्मित घरटहरा तथा संरचना हटाउन १९ मंसिरसम्मको समय तोकेको छ । मंसिर २० गतेदेखि हेटौंडा बजारको सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम अगाडि बढाउने कार्यालयको तयारी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*