मुख्यमन्त्री बानियाँको एक सय दिनको उपलब्धि सार्वजनिक

स्वर्णिम खबर
१० मंसिर २०८२, मंगलवार १९:११

९ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मंगलबार पत्रकार सम्मेलन गर्दै एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको हो । आफ्नो नेतृत्वको सरकारले गरेको प्रतिबद्धता, संकल्प र लक्ष्य पुरा गर्न सुरुका दिनदेखि नै काम गर्दै आएको उहाँले दाबी गर्नुभयो । प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्न, सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले लक्ष्य अनुरुप सबै निकायहरुमा जनतालाई सुशासनको प्रत्याभुति हुने किसिमले सेवा प्रवाह भइरहेको दाबी गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि वार्षिक कार्ययोजना तयार भई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनको क्रममा प्रदेशसभाबाट पास भएको संकल्प प्रस्ताव अनुसारको कार्य गर्न केही बाधा अड्चन देखा परेको जिकिर गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले खर्च कटौतीको प्रतिबद्धता अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ बमोजिम प्राप्त हुने सेवा सुविधा नलिएको बताउनुभयो । सरकारी आवासमा हुने खर्च कटौती गरेको भन्दै मुख्यमन्त्री बानियाँले सचिवालयको प्रशासनिक खर्च ५० प्रतिशतले कटौती गरेको दाबी गर्नुभयो । प्रदेशभरिका दलित, एकल महिला, विपन्न तथा सिमान्तकृत परिवारको लागि एक हजार घर निर्माण गरी जिविकोपार्जनको लागि दुई लाख रुपैयाँसम्म रकम किस्ता बन्दीमा उपलब्ध गराउने योजना अघि बढाएको समेत उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले गुणस्तरीय पूर्वाधार नयाँ विकासको आधार भएकाले बहुवर्षे ठेक्का मापदण्ड सुनिश्चित गरी सोही अनुसार कार्य अघि बढाएको दाबी गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले जेनजी पुस्ताको माग अनुसार प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेट बनाउने समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*