१४ नवउद्यमी सम्मानित
९ मंसिर, हेटौँडा । बागमती प्रदेश सरकारले ११ औँ उद्योग दिवसका अवसरमा १४ जना नवउद्यमीलाई सम्मान गरेको छ ।
नवप्रवर्तन उद्यमी सम्मानअन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी कुल १४ जना उद्यमीलाई नगदसहित सम्मान गरिएको हो । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत कार्यक्रममा आधारित रही मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख उपस्थितीमा जिल्लागत उद्यमीहरूलाई सम्मान गरिएको हो ।
यस वर्षको सर्वोत्कृष्ट उद्यमीका रुपमा नुवाकोट जिल्ला, म्यागङ गाउँपालिका–३ देउरालीस्थित चिया कृषि फर्म का सेल्कर तामाङ सम्मानित हुनुभएको छ । २०५८ सालदेखि एक सय रोपनी क्षेत्रमा चिया खेती गर्दै आउनुभएका तामाङलाई बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ नगद र सम्मानपत्र सहित सम्मान गरेको हो । तामाङले अर्थोडक्स चिया प्रशोधन तथा उत्पादनसँगै किवी, गोलभेडा, काक्रो तथा अन्य तरकारी खेती गर्दै आउनु्भएको छ । गत आर्थिक वर्षमा उहाँले करिब १० लाख बराबरको चिया, १५ लाखको गोलभेडा, ५ लाखको किवी, ५ लाखको काक्रो तथा २ लाखभन्दा बढी अन्य तरकारी बिक्री गर्नुभएको थियो । केही वर्ष वैदेशिक रोजगारीमा बसेका तामाङले हाल १३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आउनुभएको छ ।
कार्यक्रममा मकवानपुरबाट ज्योती दामन कृषि फार्म थाहा, नमूना एग्रे प्रोडक्स काभ्रे , ग्यालेक्सि मौरी फार्म दोलखा, चम्पक पाउँ भक्तपुर, स्पेशल पुष्टकारी ललितपुर, नमुन्चेत कृषि फार्म ककनी नुवाकोट, उज्यालो साबुन उद्योग सिन्धुली, पवित्रा कृषि तथा पशुपंक्षी फार्म धादिङ, चितवन अर्वान बुटिक, द हाइल्याण्ड आर्ट फेसन डिजाइन काठमाडौं, जौडाडा ढाका उद्योग सिन्धुपाल्चोक र रसुवाको राजेश कृषि तथा पशुपन्छी फार्म लाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको छ ।
उत्कृष्ट भएका उद्यमीहरूलाई जनही ४० हजारसहित सम्मान गरिएको थियो । उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठका अनुसार नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ बमोजिम आवेदन दिएका मध्ये प्रत्येक जिल्लाबाट सर्वाधिक अंक प्राप्त गरेका तीन उद्यमीमध्येबाट उत्कृष्ट छनोट गरिएको हो । अन्तिम छनोट मन्त्रालय स्तरीय समितिबाट अंकका आधारमै गरिएको उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले उद्यमशीलता प्रवद्र्धनका लागि उद्योगमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रम स्थल परिसरमा उत्कृष्ट तथा सर्वोत्कृष्ट उद्यमीहरुले आआफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि समेत गरेका थिए । प्रदर्शनीमा कृषि, घरेलु उद्योग, ढाका, मौरीका उत्पादन लगायतका स्टल राखिएको थियो । स्टलको मुख्यमन्त्री सहित बागमती प्रदेशका मन्त्रीहरुले अवलोकन गरेका थिए ।













