किरण खरेललाई बिजुलीमाया वन पुरस्कार २०८२ प्रदान गरिने

स्वर्णिम खबर
९ मंसिर २०८२, सोमबार १७:१६

८ मंसिर, हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल, मकवानपुरले यस वर्षको ‘बिजुलीमाया वन ः अन्तर्राष्ट्रिय संगीत पुरस्कार, २०८२’ गीतकार किरण खरेललाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्षको पुरस्कार बारेमा जानकारी दिएको हो । १७ औं संस्करणको पुरस्कार यही माघ १५ गते बिहीबार हेटौंडामा एक विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिने प्रतिष्ठान मकवानपुरका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभएको छ । विसं २०१४ सालदेखि ए दूरका सितारा…बोलको गीतबाट संगीत क्षेत्रमा सक्रिय गीतकार खरेलले अहिलेसम्म ७ सयभन्दा बढी गीत लेख्नुभएको छ । खरेलका माइतीघर..जिन्दगीलाई जीत होइन….हिमालकोे काखमा छ मेरो सानो गाउँ….मन्दिरमा छ कि मूर्तिमा माया… लगायतका लोकप्रिय गीतका सिर्जनाकर्ता खरेलका ४ वटा गीत संग्रह प्रकाशित छन् ।
आधुनिक गीत लेखनदेखि चलचित्र क्षेत्रमा समेत महत्वपूर्ण र सफल गीतहरु सृजना गर्नुभएका खरेलको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । यस प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको छ ।
यो पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुछेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाह सम्मानित भइसक्नुभएको छ ।
उद्यमी तथा व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमा विजुलीमाया वनःको सम्झनामा २०६४ सालमा पुरस्कारको स्थापना गर्नुभएको हो । ५० हजार रुपैयाँबाट सुरु गरिएका पुरस्कार राशी २०६७ सालदेखि एक लाख पु¥याइएको हो । कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरूप तरङ्ग साँस्कृतिक परिषद्को पहलमा वि.सं. २०५९ भाद्र ७ गते भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानको स्थापना भएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*