नियमित वा विशेषमा अल्झिनु हुँदैन, महाधिवेशन छिट्टै हुनुपर्छः कांग्रेस मकवानपुर
६ मंसिर, हेटौँडा । नेपाली कांग्रेसको महाधिवेशन छिट्टै हुनुपर्नेमा कांग्रेस मकवानपुरले जोड दिएको छ ।
नियमित वा विशेष महाधिवेशनमा नअल्झि पछिल्लो राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने गरी महाधिवेशन हुनुपर्ने पक्षमा कांग्रेस मकवानपुर रहेको छ । शनिबार हेटौंडा २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले कांग्रेसको मौलिक अवधारणा अनुसार अधिवेशन हुनुपर्ने बताउनुभयो । पार्टीले आफ्नो विधान अनुसार समयमै अधिवेशन गर्नेमा आफु विश्वस्त रहेको सभापति लामाले बताउनुभयो ।
कम्युनिष्टसंगको संगतले कांग्रेस नियमित र विशेष अधिवेशनमा अल्झिन पुगेको उहाँको धारणा छ । एमाले र माओवादीसंग मिलेर सरकार बनाउँदा कांग्रेसलाई राजनीतिक रुपमा असर परेको उहाँले उल्लेख गर्नुभयो । नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभुमिलाई जोगाइ राख्नपनि नियमित महाधिवेशन छिट्टै गर्नुपर्ने सभापति लामाले बताउनुभयो । संवैधानिक त्रुटिलाई सच्याउन देखि जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न समेत कांग्रेसको महाधिवेशन छिट्टै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले विधानमा तोकिएको ४ वर्षमा महाधिवेशन हुँदैन भन्ने मानसिकता कांग्रेसजनमा रहेको बताउनुभयो । ४८ सालपछि एउटा मात्र महाधिवेशन नियमित समयमा भएको उहाँले उल्लेख गर्नुभयो । विगतमा कांग्रेसको महाधिवेशन समयमै हुन नसक्दा देशको संविधान नै संशोधन गर्नु परेको समेत उहाँले जिकिर गर्नुभयो । ४ वर्षे कार्यकालमा अधिवेशन हुन नसक्दा विधानमै थपिएको १ वर्षमा समेत अधिवेशन हुन नसकेर संविधान संशोधन गरी ६ महिना थप गरेर अधिवेशन गरी पार्टी विघटन हुन बाट जोगाएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, प्रवक्ता अर्जुन चौलागाई लगायत कांग्रेसका नेताहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसैबीच शनिबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवशेनबारे कुनै निर्णय नगरी सकिएको छ ।













