संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्यास सम्बन्धी परामर्श कार्यक्रम

स्वर्णिम खबर
६ मंसिर २०८२, शुक्रबार १८:५१

५ मंसिर, हेटौँडा । संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्यास सम्बन्धी परामर्श कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
बागमती प्रदेशसभा तथा युएनडीपीको समन्वयमा गभर्नेन्स इन्टरनेशनल नेपालले शुक्रबार प्रदेश सभा सचिवालयमा कार्यक्रमको आयोजना गरेको हो । प्रदेश सभा उपसभामुख अप्सरा चापागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपसभामुख चापागाईंले सत्य सूचना र पारदर्शिताले प्रदेश सभालाई थप बलियो बनाउने बताउनुभयो । अपुष्ट तथा गलत सूचनाले अनावश्यक विवाद सिर्जना गर्ने भएकोले सही सूचना पहिचान र यसको जिम्मेवार प्रसारणमा सबै सचेत रहनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
उहाँले सबै नागरिकको सूचनामा पहूँच सुनिश्चित गर्न प्रदेश सभाले भाषा विधेयक पास गरेको बताउनुभयो । लिपी निर्माण र भाषा अनुवादकको व्यवस्था गर्न नसक्दा स्थानीय तहसम्मै कानूनको प्रभावकारी कार्यान्वयन गर्न नसकिएको उहाँको भनाई रहेको छ । प्रदेश सभाले बनाएको कानून कार्यान्वयनको अवस्थाबारे बुझ्दा धेरैले पर्याप्त जानकारी नलिने गरेको देखिएको समेत उपसभामुख चापागाईले बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले सूचना प्रवाह बढ्दै जाँदा प्रदेश सभा थप जिम्मेवार बन्दै जाने उल्लेख गर्नुभयो । अन्य प्रदेशको भन्दा बागमती प्रदेशमा संसदीय गतिविधि बढी पारदर्शी रहेको दाबी गर्दै उहाँले २०७६ सालमा जारी गरिएको सूचनाको हक सम्बन्धी कानुनले यसमा थप आधार दिएको बताउनुभयो ।


त्यसैगरी एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले विधेयकलाई आम नागरिकसम्म कसरी पु¥याउने भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकप्रति सांसद स्वयंले पर्याप्त चासो नदेखाउने प्रवृत्ति सुधारिनुपर्ने भन्दै उहाँले विधेयक दर्ता हुनु अघि नै जनस्तरसम्म छलफल पु¥याउनुपर्नेमा जोड दिनुभयो । विशेषतः महिला, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायलाई प्रत्यक्ष रुपमा सहभागिता गराएर छलफल गरिनुपर्र्नेे उहाँको भनाइ थियो ।
प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले खुला संसदीय अभ्यासले लोकतन्त्र सुदृढ गर्ने, नागरिकले संसदको गतिविधि निगरानी गर्न सक्षम बनाउने र निर्णय प्रक्रियाप्रति जनविश्वास बढाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गभर्नेन्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक सञ्जीव घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बागमती प्रदेश सभा प्रवक्ता मनोज गुप्ताले खुला संसद अभ्यासका विषयमा प्रदेश सभाले गरेका गतिविधिबारे जानकारी दिनुभयो । कार्यक्रममा विशेषधिकारी समितिकी सभापति मायादेवी शर्मा, प्रदेश सभा सदस्य कुमारी मोक्तान, समिता खड्गी श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, प्रदेश सभा सचिव रामकुमार पौडेल, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारकर्मी, नागरिक समाज, प्रदेश सभाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*