बागमती प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस

स्वर्णिम खबर
४ मंसिर २०८२, बुधबार १७:४६

३ मंसिर, हेटौँडा । बागमती सरकारले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्नको लागि सिफारिस गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन (वर्षे) अन्त्य गर्न सिफारिस गरेको हो । बैठकले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मङ्सिर ३ गते बुधबार राती १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरेको प्रवक्ता तामाङले बताउनुभयो । त्यसैगरी बैठकले एक सचिवको पदस्थापना गरेको छ भने २ जना ११ औँ तह (सचिव) को सरुवा पनि गरेको छ । संघीय सरकारबाट सरुवा भई आएका एक सचिवको पदस्थापन गरेको हो भने प्रदेश सरकारका ११ औँ तहका दुई कर्मचारीको सरुवा गरेको हो । संघीय सरकारबाट सरुवा भई आएका सहसचिव रामबाबु पुरीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडामा नारायण कुमार श्रेष्ठ र तालिम केन्द्र, भण्डारामा सुधीर श्रेष्ठलाई सरुवा गरिएको छ ।
बैठकले शिक्षा विकास निर्देशनालयको महानिर्देशक पदमा उपसचिव गोपाल कँडेललाई कायम मुकायम प्रमुखको जिम्मेवारी तोकेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । बैठकले मुख्यमन्त्री कार्यालयको सिफारिसमा उपसचिव इन्जिनियर घनश्याम कार्कीलाई ११औँ तह (सचिव)मा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्ताविमा प्रदेश आयोजनाको वहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको छ भने बैठकले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सशस्त्र आवासीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*