लालीगुराँसलाई एन्फा प्रेसिडेन्ट कपको उपाधि

स्वर्णिम खबर
३ मंसिर २०८२, मंगलवार १९:०५

२ मंसिर, हेटौँडा । कास्कीको लालीगुराँस एसोसियसन क्लबले हेटौंडामा सम्पन्न एन्फा प्रेसिडेन्ट कपको उपाधि जितेको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा मंगलबार भएको फाइनल खेलमा काठमाडौँको चित्लाङलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै लालीगुराँसले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोल रहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको हो । सो खेलमा लालीगुराँसका एन्जल श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । उपाधिसंगै लालीगुराँसले नगद १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपबिजेता बनेको चित्लाङले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
विधागत तर्फ सबैभन्दा धेरै गोल गर्ने खेलाडी लालीगुँरासका आशिष गुरुङ घोषित भए । उनले प्रतियोगिता भर ४ गोल गरेका थिए । त्यसैगरी सर्वोत्कृष्ट गोलरक्षक लालीगुराँसकै एन्जल श्रेष्ठ घोषित भए । दुबैले जनही नगद २५ हजार पुरस्कार राशी पाए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चित्लाङका शिशिर लेखी घोषित भए । उनले नगद ५० हजार पुरस्कार राशी पाए ।
बाराको नव जागृति क्लबले फेयर प्ले अवार्ड पाएका छन् । लिग चरणको खेलमा पनि लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो । बिजेता र उपबिजेता टोलीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङले पुरस्कार वितरण गर्नुभएको हो ।
एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिग बाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । कार्तिक १९ गते सुरु भएको एन्फा प्रेसिडेन्ट कपबाट लालीगुराँस र चित्लाङ सहित बाराको नवजागृति र सुर्खेतको काक्रेबिहारले यही पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागिता जनाउन पाउने भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*