देशमै गरिखाने वातावरण नबन्दा राजनीतिमा अकल्पनिय अप्राकृतिक प्रकोप भयोः मुख्यमन्त्री बानियाँ
१ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशमै गरिखाने वातावरण नबन्दा भदौ २३ र २४ गते नेपालको राजनीतिमा अकल्पनिय अप्राकृतिक प्रकोप भएको बताउनुभएको छ ।
राजनीतिक परिवर्तन भएपनि गरिखाने वातावरण बन्न नसक्दा युवापंक्तिहरु निराश हुन पुगेको उहाँले उल्लेख गर्नुभयो । मकवानपुर गढी ५ धादिङ स्थित श्री शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले विगतको शिक्षा प्रणालीबाट देशमै गरि खाने वातावरण नबन्ने जिकिर गर्नुभयो । मानिसको जीवनयापन संग प्रत्यक्ष रुपमा जोडिने प्राविधिक शिक्षा लागु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालय प्रशासनलाई आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । पढेको विद्यार्थीहरुलाई काम संग जोडेर गरि खाने बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले अहिले परिस्थितिमा ठगी खाने र मागी खाने शिक्षाको आचित्य सकेको बताउनुभयो ।

त्यसैगरी मुख्यमन्त्री बानियाँले शिक्षा जीवनयापन गर्ने माध्यम भएको बताउनुभयो । शिक्षाले मानिसलाई युग सुहाँउदो दक्ष जनशक्ति बनाउने समेत उहाँले उल्लेख गर्नुभयो । दक्ष मानिसले आफ्नो जीवनलाई सहज बनाउने उहाँको धारणा छ । शिक्षा बिनाको मानिस अहिले आँखा नभएको मान्छे बराबर हुने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले शिक्षालाई मानवको मन्दिरको रुपमा चित्रण गर्नुभयो ।
शिक्षा प्रणालीमा सुधार गर्न शिक्षकहरुको लागि पनि तालिमको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । डिजिटल प्रविधिसंग अव्यवस्त हुने शिक्षा अहिलेको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले भ्रष्टचार मुक्त र सुशासन युक्त शासन व्यवस्थालाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । गरि खाने वातावरण नबन्दा नै व्यक्तिहरु लुटपाट र तोडफोडमा संलग्न भएको उहाँको धारणा छ ।
मुख्यमन्त्री बानियाँले जेनजी पुस्ताले सही उद्देश्य राखेर आन्दोलन गरेको भएपनि व्यवस्था मन नपराउनेहरुले लुटपाट गरेको जिकिर गर्नुभयो । लोकतन्त्रमा गलत काम गर्ने कसैले पनि छुट नपाउने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले राजनीतिमा अब झुट खेती नचल्ने बताउनुभयो ।

राजनीति गर्नेहरुले अब गर्न सक्ने कुरा मात्र भन्ने र गर्न नसक्ने कुराहरुको आश्वासन देखाउन नहुने उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्द्रबहादुर कार्कीले स्वर्ण महोत्सवको अवसरमा मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने जिल्लास्तरीय खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी लगायत ५८ वटा विभिन्न गतिविधि बारे जानकारी गराउनुभएको थियो ।













