लालीगुराँस र चित्लाङ फाइनलमा
३० कार्तिक, हेटौँडा । हेटौंडामा जारी एन्फा प्रेसिकेन्ट कपको उपाधिको लागि कास्कीको लालीगुराँस एसोसियसन क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको सेमिफाइनलका खेलहरुमा बिजयी हुँदै लालीगुराँस र चित्लाङ फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा सुर्खेतको काक्रेबिहार युथ क्लबलाई लालीगुराँसले २–० को गोलअन्तरले पराजित गरेको हो । लालीगुराँसको लागि खेलको २० औं मिनेटमा मुकुन्द कुमार न्युरे र ९२ औं मिनेटमा राम थापाले गोल गरेका हुन् ।
सो खेलमा प्लेयर अफ दि म्याच लालीगुराँसका मुकुन्द घोषित भए । त्यसैगरी दोश्रो खेलमा बाराको जन जागृति क्लबलाई सडन डेथमा ९–८ गोलअन्तरले पराजित गर्दै चित्लाङले फाइनलमा लालीगुराँस संगको भिडन्त पक्का गरेको हो । निर्धारित समय दुबै टोलीले गोल रहित बराबरी खेलेसंगै खेल टाइब्रेकर तर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएसंगै सडनडेथमा चित्लाङले बाजी मारेको हो ।
खेलमा चित्लाङका विशाल केसी प्लेयर अफ दि म्याच घोषित भए । फाइनल खेल मंसिर २ गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिग बाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।













