सुशासन र पारदर्शीता स्वास्थ्य मन्त्रालयको मुख्य प्राथमिकताः मन्त्री थापा
३० कार्तिक, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुशासन र पारदर्शीतालाई मन्त्रालयले मुख्य प्राथमिकतमा राखेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयको आयोजनामा आइतबार देखि हेटौंडामा सुुरु भएको आर्थिक वर्ष २०८१÷८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको ३ दिने वार्षिक समीक्षा कार्यक्रममा मन्त्री थापाले मन्त्रालय मातहातका निकायहरुलाई सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । मन्त्रालयले गरेको परिपत्र अनुसार कार्यालयका प्रमुखहरुलाई कोटेशनबाट साम्रगीहरु खरिद नगर्न उहाँले अनुरोध गर्नुभयो । मन्त्री थापाले आवश्यक परेको अवस्थामा स्वीकृत लिएर मात्र कोटेशनको साम्रगी खरिद गर्न निर्देशन दिनुभयो । अन्यथाः कारवाहीको भागीदारी हुने समेत उहाँले चेतावनी दिनुभयो । मन्त्री थापाले पछिल्लो समय विचौलियाहरुले स्वास्थ्य मन्त्रालयमा प्रभाव पार्न खोजेको बताउनुभयो । प्रदेश सरकारले भ्रष्टचार न्युनिकरण गरेको सन्देश दिन पनि सामग्रीहरु टेण्डर प्रक्रिया मार्फत खरिद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री थापाले तीन वटै तहको सरकारहरुबीच समन्वयको अभाव हुँदा स्वास्थ्य क्षेत्रमा सोच अनुरुपको सुधार गर्न नसकेको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले बजेट छुट्याए पनि समन्वयको अभावमा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उहाँको धारणा छ । यद्यपी संघीयताकै कारण प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको उहाँले दाबी गर्नुभयो ।
प्रदेशको १३ वटै जिल्लाका अस्पतालको सुधार देखी विशेषज्ञ सेवा सञ्चालनको लागि हरेक वर्ष बजेट विनियोजन गरिरहेको उहाँको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर सुमित्रा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्बेस शर्मा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवाली, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक डाक्टर नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डाक्टर अर्जुन सापकोटा, जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख वसन्त अधिकारी, स्वास्थ्य तालिम केन्द्रका प्रमुख दिपक तिवारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ को जनस्वास्थ्य, अस्पताल तथा आयुर्वेद कार्यक्रमको समग्र प्रगति, स्वास्थ्य नीति तथा कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति सहित नेपालको समग्र स्वास्थ्य नीति तथा रणनीति बारे प्रस्तुतीकरण गरिएको थियो ।













