अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रदेश सरकारको तयारी
२८ कार्तिक, हेटौँडा । बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी गरेको छ ।
शुक्रबार श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा प्रदेशभरीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला पक्षहरुसंग सामाजिक सुरक्षा कोषको विषयमा अन्तरक्रिया गरिएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको प्रमुख आतिथ्यता एवम्,नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक एकालाल श्रेष्ठ, पूर्व श्रम मन्त्री प्रेमभक्त महर्जन, प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेल, प्रेमबहादुर पुलामी लगायतको उपस्थितिमा मन्त्रालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मन्त्री थापाले सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनमा स्थानीय पालिकाहरु बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । कोष बारे प्रचारात्मक कार्यक्रमहरु सञ्चालन पालिकाले प्रत्येक वडामा बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री थापाले प्रत्येक पालिकाले श्रम डेस्कको समेत व्यवस्था गर्नुपर्ने बताउनुभयो । संघ सरकारसंग समन्वय गरेर कोषमा रकम थप गर्न प्रदेश सरकार तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी प्रमुख सचेतक श्रेष्ठले विभिन्न क्षेत्रको माध्यमबाट सरकार जनता प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । सरकार जनताको हुन नसक्दा जेनजी आन्दोलन जस्तै अनेक आन्दोलनहरु हुन सक्ने उहाँले उल्लेख गर्नुभयो । प्रमुख सचेतक श्रेष्ठले सामाजिक सुरक्षा कोष जस्ता कोषहरु मार्फत जनतालाई सरकारले अभिभावकत्व प्रदान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालले कोषको विषयवस्तुको बारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ । भीमफेदी गाउँपालिका, बढानिलकण्ठ नगरपालिकाले पनि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना बारे प्रस्तुतीकरण राखेको थियो ।













