एन्फा प्रेसिडेन्ट कपः नवजागृति, काक्रेबिहार, लालीगुराँस र चित्लाङ सेमिफाइनलमा

स्वर्णिम खबर
२९ कार्तिक २०८२, शुक्रबार १८:०५

२८ कार्तिक, हेटौँडा । हेटौंडामा जारी एन्फा प्रेसिकेन्ट कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा शुक्रबार भएको समुह ‘बि’ का अन्तिम खेलहरुमा बाराको नवजागृति क्लब र सुर्खेतको काक्रेबिहार क्लब बिजयी भएसंगै अन्तिम ४ मा पुग्ने टोलीहरुको टुंगो लागेको हो । शुक्रबारको पहिलो खेलमा तनहुँको हैरान्सलाई ७–२ को फराकिलो गोलअन्तरले पराजित गर्दै समुह बिजेताको रुपमा बारा सेमिफाइनलमा प्रवेश गरेको हो ।
बाराको लागि सुजन डंगोलले ह्याट्रिक गरे भने बिजय उर्नव, प्रतापसिंह राई, अभिनाश स्याङतान र कृपाकान्त महतो थारुले समान १–१ गोल गरे । त्यसैगरी हैरान्सको तर्फबाट बिजय दोङ र सामुल सुनारले एक–एक गोल फर्काए । सो खेलको प्लेयर अफ दि म्याच सुजन डंगोल घोषित भए । त्यसैगरी दोश्रो खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ५–३ ले पराजित गर्दै सुर्खेतको काक्रेबिहारले पनि समुहको उपबिजेता बन्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको छ ।
काक्रेबिहारको लागि अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गर्दा गणेश पुलामी मगर र आशीष चापागाईले समान एक–एक गोल गरे । गाईघाटको लागि पविन राईले २ र दिवस क्षेष्ठले एक गोल गरेका हुन् । खेलमा काक्रेबिहारका गणेश पुलामी मगर प्लेयर अफ दि म्याच घोषित भए । यसअघि बिहिबार भएको खेलहरुबाट कास्कीको लालीगुराँस एशोसिएसन क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको सेमिफाइनलका खेलहरु कार्तिक ३० गते आइतबार हुनेछ । पहिलो सेमिफाइनल खेल लालीगुराँस र काक्रेबिहार बीच हुँदा दोश्रो सेमिफाइनल खेल नव जागृति क्लब र चित्लाङबीच हुने आयोजकले जनाएको छ । सेमिफाइनल पुगेका चार वटै टोली यही वर्ष पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागी हुन पाउने भएको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*