प्रभास घिमिरे सम्झना र सिर्जना नामक स्मृति ग्रन्थ लोकार्पण
२१ कार्तिक, हेटौँडा । बहुप्रतिभाशाली युवा साहित्यकार प्रभास घिमिरेको प्रथम स्मृति दिवसको अवसरमा अक्षयकोष स्थापना तथा स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।
नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा हेटाडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा प्रभास घिमिरे सम्झना र सिर्जना नामक स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । स्मृति ग्रन्थमा स्वर्गीय घिमिरेले लेख्नुभएका ९४ वटा प्रकाशित र अप्रकाशित काव्य सिर्जनाहरू समेटिएका छन् ।
उहाँको अमरत्वका लागि रचनाहरुसंकलन गरिएको नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक दीपक गौतमले बताउनुभयो । साथै, स्वर्गिय घिमिरेको नाममा आगामी वर्षबाट प्रभास स्मृति पुरस्कार स्थापना गर्ने तयारी समेत गरिएको उहाँले बताउनुभयो ।
उहाँको स्मृतिमा अक्षयकोष समेत स्थापना गरिएको छ । कोषमा हेटौंडा उपमहानगरपालिकाले ३० हजार रुपैयाँ सहयोग गरेको छ । यसका साथै वडा नम्बर ४, ११, १६, १७, र १८ नम्बर वडाका साथै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् । गत वर्ष कार्तिक २१ गते सवारी दुर्घटनामा परी दिवंगत हुनुभएका घिमिरे शास्त्रीय अध्ययनरत हुनुहुन्थ्यो । उहाँको साहित्यिक रुचि, सिर्जनात्मक सोच र बहुप्रतिभा सबैका लागि प्रेरणादायी बनेको आयोजकले जनाएको छ ।
नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षतमा भएको कायृक्रममा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल र वडा नं. ११ की अध्यक्ष जुना दाहल, स्वर्गिय घिमिरेका मातापिता, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेल, क्याम्पस प्रमुख एम सिलवाल, परमानन्दम गुरुकुल देवघाटका गुरु तथा विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।













