एन्फा प्रेसिडेन्ट कपः देउरालीको पहिलो जीत, बिजय स्पोर्टस् र चित्लाङ बराबरी
२१ कार्तिक, हेटौँडा । धनकुटाको देउराली युथ क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत दर्ता गरेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा शुक्रबार भएको पहिलो खेलमा बर्दियाको जनजागृति युवा क्लबलाई ३–१ ले पराजित गर्दै देउरालीले महत्वपूर्ण ३ अकं जोडेको हो । यसअघि देउरालीले चित्लाङसंग ४–१ को पराजय व्यहोरेको थियो । देउरालीका लागि मिलन लिम्बुले २ र उज्वल राईले एक गोल गरेका हुन् ।
खेलको सुरुवात मै जनजागृतिका शम्भु थारुले गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि १० औं मिनेटमा देउरालीका मिलन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि पुनः मिलनले खेलको ४४ औं मिनेटमा र राईले ८९ औं मिनेटमा गोल गरेका हुन् । देउरालीका बिशाल तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।
त्यसैगरी शुक्रबार नै भएको बिजय स्पोर्ट्स् क्लब र चित्लाङ एफसीबीचको दोश्रो खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलको पहिलो हाफमा इन्जुरी समयमा बिजय स्पोर्टस्का अरुण थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएको थियो तर दोश्रो हाफमा पुनरागमन गर्दै ७२ औं मिनेटमा चित्लाङका विज्ञान खड्काले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि पुनः गोल हुन सकेन र दुबै टोलीले १–१ अंक बाड्न बाध्य भए ।
खेलमा चित्लाङका विज्ञान खड्का प्लेयर अफ दि म्याच घोषित भए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।













