एन्फा प्रेसिडेन्ट कपः काक्रेबिहार र टाईगर्स बिजयी
२० कार्तिक, हेटौँडा । सुर्खेतको काक्रेबिहार युथ क्लब र दोलखाको टाइगर्स टिमले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा बिजयी सुरुवात गरेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा बिहिबार भएको पहिलो खेलमा तनहुँको हैरान्स क्लबलाई ३–२ ले पराजित गर्दै काक्रेबिहारले बिजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमै २ गोल गरेर हैरान्सलाई दबाबमा राखेको काक्रेबिहारले दोश्रो हाफमा एक गोल गरेको हो । काक्रेबिहारको तर्फबाट खेलको ३२ औं मिनेटमा सुजन बलम्पाकी मगर र ४२ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दा ६८ औं मिनेटमा अनिश क्षेत्रीले गोल गरेका हुन् ।
दोश्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको हैरान्सले दुई गोल ग¥यो । हैरान्सको लागि खेलको ५८ औं मिनेटमा समिराज थोकर र ८४ औं मिनेटमा विश्व लामाले गोल गरे । जितसंगै काक्रेबिहारले ३ अंक जोडेको छ । खेलमा काक्रेबिहारका रोहन कार्की प्लेयर अफ दि म्याच घोषित भए ।
त्यसैगरी दोश्रो खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ ले हराउँदै टाइगर्सले बिजयी सुरुवात गरेको हो । खेलको १२ औं मिनेटमा टाइगर्सका सुसन लामाले गोल गर्दैै टोलीलाई अग्रता दिलाएपनि २८ औं मिनेटमा गाईघाटका युगन राईले गोल गर्दैं खेललाई बराबरीमा ल्याए । तर दोश्रो हाफमा टाइगर्सका आशिष श्रेष्ठले गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । खेलमा टाइगर्सका सुसन लामा प्लेयर अफ दि म्याच घोषित भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।













