संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

स्वर्णिम खबर
१७ कार्तिक २०८२, आईतवार २०:५५

१६ कार्तिक, हेटौँडा । सातै प्रदेशका मुख्यमन्त्रीले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सातै प्रदेशका मुख्यमन्त्रीसँगको बैठकमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएका्मा सह्राहना गर्दै उहाँहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम फलदायी बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
मुख्यमन्त्रीहरूले निर्वाचनको प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरतासाथ लाग्नुपर्ने धारणा राखेका थिए ।
संघ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरुको भनाई थियो ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको संवैधानिक अस्तित्व, सहकार्य र समन्वयको भावनालाई संघीय सरकारले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनको तयारीका सिलसिलामा बोलाइएको उक्त छलफलमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारहरु संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण अंग रहेको बताउनुभयो । उहाँले असोज ५ मा संघीय सरकारले प्रदेश सरकारलाई जानकारी नदिई प्रमुख सचिवलाई सोझै परिपत्र गरेको विषयमा टिप्पणी गर्दै संविधान अनुसार प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
बैठकमा मुख्यमन्त्रीहरुले खर्च कटौतीका लागि संघीय सरकारले गरेको परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको पनि बताएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न माग गर्नुभयो । मुख्यमन्त्रीहरूले डेडिकेटेड फिडरको बक्यौता नबुझाउने उद्योगको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदुर र सरकारको राजस्वमा असर गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री कार्कीले पनि राजनीतिक दल नै यस व्यवस्थाका वाहक भएकाले जतिसक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*