फौजदारी अपराधमा संलग्नलाई कारवाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैनः अध्यक्ष कार्की

स्वर्णिम खबर
१२ कार्तिक २०८२, मंगलवार १७:५९

११ कार्तिक, हेटौँडा । जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारवाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताउनुभएको छ ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययनका लागि मंगलबार मकवानपुर आइपुग्नुभएका अध्यक्ष कार्कीले प्रमाणका आधारमा प्रहरीले तुरुन्तै कानूनी कारबाही अघि बढाउन सक्ने स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले फौजदारी अपराधका घटनामा प्रमाणका आधारमा अनुसन्धान र कारबाही गर्न पाउने अधिकार संविधान र कानूनले प्रहरीलाई दिएको बताउनुभयो ।
पूर्वन्यायाधीशसमेत रहनुभएका कार्कीले २३ गतेको घटना जेनजी आन्दोलन भएको र २४ गतेको घटनाहरू पूर्ण रूपमा फौजदारी अपराध अन्तर्गत पर्ने उल्लेख गर्नुभयो । दुवै दिनका घटनालाई छुट्टाछुट्टै आयोग मार्फत छानबिन गर्नुपर्ने भए पनि सरकारसँग बजेट अभावका कारण एउटै आयोगबाट अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
दुबै दिनको घटनाको निष्पक्ष छानबिन गरेर कानूनी कारबाहीको प्रक्रिया सहित सरकारलाई सुझाव दिने उहाँले उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री र गृहमन्त्रीसमेतमाथि आरोपहरू सार्वजनिक भइरहेका सन्दर्भमा बोल्दै कार्कीले अनुसन्धानका क्रममा प्रमाण फेला परे मुद्धा दर्ता गर्न सकिने बताउनुभयो ।


२३ गतेको गोली कसरी चल्यो भन्ने विषयमा आयोगले अध्ययन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार उच्च सुरक्षा व्यवस्थाबीच सिंहदरबार, संसद् भवन लगायतका संरचना जल्नुमा पनि अनुसन्धान भइरहेको छ । अध्यक्ष कार्कीले कानूनी शासन बलियो बनाउन प्रहरीको मनोबल उच्च राख्न आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले जेनजी आन्दोलनपछि राज्यको अनुभूति नै नभएको बताउनुभयो । उहाँले दुवै दिनका घटनालाई एउटै रूपमा हेर्न नमिल्ने भन्दै २४ गतेको आन्दोलन डकैती र घुसपैठमा परिणत भएको दाबी गर्नुभयो । डकैती गर्नेसँग डराएर बस्नुपर्ने अवस्था रहेको उल्ल्ेख गर्दै उहाँले हालको असुरक्षा र त्रासका कारण फागुन २१ गते तोकिएको समयमा निर्वाचन हुन नसक्ने तर्क गर्नुभयो । आफूहरुले कानूनको शासनमा विश्वास गरेर पर्खिएको भए पनि अब पनि आगजनी, लुटपाटमा संलग्नलाई कारबाही नगर्ने हो भने धैर्यताको बाँध टुट्ने उहाँले चेतावनी दिनुभयो ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले २४ गतेको घटनालाई अत्यन्त गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनमा बौद्धिक वर्ग भनिने समूहको समेत सहभागिता रहेको आरोप लगाउनुभयो । प्रहरी, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसम्म लुकेर बस्नुपर्ने अवस्था आएको स्मरण गर्दै नगर प्रमुख लामाले समाज कता जाँदैछ भन्ने गम्भिर प्रश्न उठेको बताउनुभयो । आक्रमणकारीलाई कानूनी कारबाहीको दायरामा नल्याएसम्म आगामी निर्वाचन सम्भव नहुने उहाँको पनि तर्क थियो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्रालयका सचिवहरू, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*