निष्पक्ष निर्वाचनको लागि सरकारले वातावरण बनाउन सकेको छैनः सभापति देउवा

स्वर्णिम खबर
२८ आश्विन २०८२, मंगलवार १६:०९

२८ असोज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको लागि सरकारले वातावरण बनाउन नसकेको बताउनुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै सभापति देउवाले फागुन २१ गतेको लागि प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोके पनि निर्वाचनको लागि वातावरण बनि नसकेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताउनु भयो ।
संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको उहाँले दाबी गर्नुभयो । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको उहाँले बताउनु भयो । सभापति देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको बताउनु भयो ।
त्यसैगरी सभापति देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताउनुभयो । उहाँले जेन—जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो । सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि उहाँले माग गर्नुभयो ।
सभापति देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आपूmले पार्टीको नेतृत्व छोडने दोहो¥याउनुभयो । हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै उहाँले १५ औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभयो । सभापति देउवाले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो । अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी सभापति देउवाले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिनुभएको छ । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*