प्रधानमन्त्रीलाई कमल थापाको प्रश्नः युवा पुस्ताको माग पुरा गर्न संविधान कसरी बाधक ?
२७ असोज, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेनजी युवा पुस्ताको आन्दोलन हाइज्याक भएको बताउनुभएको छ ।
राप्रपा नेपालको आयोजनामा सोमबार हेटौंडामा आएको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले देशी विदेशी शक्ति र असफल भइसकेको गणतन्त्रका अवशेषहरुले साँठगाँठ गरेर जेनजी आन्दोलनलाई अपहरण गरेको आरोप लगाउनुभयो । युवाहरुले खोलेको परिवर्तनको ढोकालाई भदौ २४ गते मध्यराती बन्द गर्ने काम भएको उहाँको बुझाई छ । राष्ट्रपति रामचन्द्र पौडेल तर्फ कटाक्ष गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले जुक्ति लगाएर भ्रष्ट व्यवस्था र शासकलाई जोगाएको टिप्पणी गर्नुभयो । असंवैधानिक तरिकाले सुशीला कार्की प्रधानमन्त्री बनेको समेत उहाँले बताउनुभयो ।
जनताको परिवर्तनको चाहनलाई तुहाउने काम स्वयम् प्रधानमन्त्रीबाटै भएको उहाँले आरोप लगाउनुभयो । असंवैधानिक सिफारिसको आधारमा संसद् विघटन गर्दा संविधान बाधक नहुने तर युवा पुस्ताको माग सम्बोधन गर्न संविधान कसरी बाधक भयो भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष थापाले अहिलेको मिश्रित निर्वाचन प्रणाली कायम राखेर भ्रष्टचार र कुशासनको अन्त्य हुन नसक्ने बताउनुभयो । अध्यक्ष थापाले विगत २ दशक देखि देशमा फैलिएको भ्रष्टचारको जालोको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र र निर्वाचन प्रणाली भएको बताउनुभयो । अहिलेको निर्वाचन प्रणालीबाट लोकप्रिय दलको समेत बहुमत नआउने भएकोले सांसद्हरुको किनबेच र पुराना दलहरुको अपवित्र गठबन्धन कायम रहने उहाँको धारणा छ । गणतन्त्र र संघीयतालाई कायम राखेर गरिने निर्वाचनको कुनै अर्थ नहुने समेत उहाँले बताउनुभयो ।
अध्यक्ष थापाले जेनजी आन्दोलनले नेपालको राजनीतिमा भुकम्प ल्याएको बताउनुभयो । छोटो समयमा नै ठुलो राजनीतिक महत्व राख्ने परिर्वतन भएको उहाँको भनाई छ । उहाँले २ दिनको संघर्षले निरङकुश सत्ता अपदस्थ मात्र नभएर देशको उज्वल भविष्यको आशा र विश्वास समेत तयार गरेको उल्लेख गर्नुभयो । भ्रष्ट व्यवस्था अन्त्यको लागि राप्रपा नेपालले गरेको आन्दोलन विविध कारण सफल हुन नसके भन्दै उहाले युवाहरुले २ दिनमै भ्रष्ट व्यवस्थाको जग नै हल्लाई दिएको बताउनुभयो ।
अध्यक्ष थापाले राजसंस्था सहित प्रजातन्त्रबाट मात्र नेपालीहरुबीचको राष्ट्रिय एकता कायम गर्न सकिने बताउनुभयो । भेलामा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।













