जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः लेखक
२४ असोज, काठमाडौँ । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गर्नुभएको छ ।
शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गर्नुभयो । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिएको आरोप लाग्दै आएको छ । उहाँले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख समेत व्यक्त गर्नुभयो । नेता लेखकले आन्दोलनको पहिलो दिनमै ठूलो धनजनको क्षति भएका कारण आफूले गृहमन्त्रीको पदबाट राजीनामा गरेको पनि उल्लेख गर्नुभयो ।
त्यसैगरी नेता लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । सरकार, छानविन आयोग र राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र कानूनको अधिनभित्र रहेर आ—आफ्नो कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ छ । नेता लेखकले मुलुक राजनीतिक जटिलतातर्फ धकेलिएको उल्लेख गर्दै यस अवस्थामा कानूनी साशनको मान्यताभित्र बसेर सबैले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
सरकारले गत २३ र २४ भदौमा भएको जेन—जी आन्दोलनका क्रममा भएका दमन र लुटपाटको छानविन गर्नका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।













