पत्रकार महासंघ मकवानपुर र सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता

स्वर्णिम खबर
११ आश्विन २०८२, शनिबार १३:१७

११ असोज, हेटौँडा । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता गरिएको छ ।
सम्झौता अनुसार महासंघमा आबद्ध सदस्यहरूले अस्पतालबाट निःशुल्क ओपीडी, शल्यक्रिया र भर्ना भएर गरिने उपचार सेवा निःशुल्क पाउने भएका छन् । शनिबार महासंघको हलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष बालकृष्ण अधिकारी र अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार पत्रकार महासंघका सदस्यहरूले ल्याब परीक्षण, रेडियोलोजी लगायत अन्य परीक्षणहरू पनि निःशुल्क पाउनेछन् । औषधी खरिदमा भने १० प्रतिशत छुट प्राप्त गर्ने महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो ।
उपचार सेवा लिनका लागि महासंघका सदस्यहरूले आफ्नो सदस्यता प्रमाणपत्र अनिवार्य लिएर जानुपर्नेछ । प्रारम्भिक चरणमा यो सम्झौता तीन वर्षका लागि गरिएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सक्रिय पत्रकारहरूको स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउने उद्देश्यले सम्झौता गरिएको अस्पताल सञ्चालन समितिका सचिव अर्जुन विडारीले बताउनुभयो ।
नेपाल पत्रकार महासघ मकवानपुर शाखामा १ सय १७ सदस्य आवद्ध रहेका छन् । स्वास्थ्य उपचार सम्झौतासँगै नेपालीहरूको महान् चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो । पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी लगायतकाले मन्तव्य राखेको कार्यक्रममा सहकारी अस्पतालका प्रतिनिधिहरू, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा पत्रकार निकट सङ्गठनहरूका प्रतिनिधिसहित पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*