घाइते संविधानलाई स्वस्थ्य बनाउन फागुन २१ मै निर्वाचन हुनुपर्छः महामन्त्री शर्मा

मनिल महतो
११ आश्विन २०८२, शनिबार १२:२३

११ असोज, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासको लागि निर्वाचन जरुरी रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकन पश्चात् सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै महामन्त्री शर्माले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ्य बनाउन पनि फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकाहरुलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने उहाँको भनाई छ ।
महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्ने समेत बताउनुभयो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उहाँले उल्लेख गर्नुभयो । महामन्त्री शर्माले वर्तमान सरकार असफल भए लोकतन्त्र धरापमा पर्ने समेत बताउनुभयो । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकाहरुलाई कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयो । विगतमा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको जिम्मा लिने र नराम्रा कामहरुको आलोचना समेत व्यहोर्ने बताउँदै महामन्त्री शर्माले घटनाको छानबीन र कारवाही गर्ने विषयमा अन्तरिम सरकारलाई कांग्रेसको साथ र समर्थन रहने स्पष्ट पार्नुभयो । महामन्त्री शर्माले सरकारी संरचना देखि व्यवपारिक प्रतिष्ठानहरुको आगजनी र तोडफोड जेनजीको भावना अनुरुप नभएको बताउनुभयो ।


जेनजीको नाममा अराजक गतिविधि गर्नेलाई कारवाही गर्नु सरकारको दायित्व भएको उहाँको धारणा छ । महामन्त्री शर्माले आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्ने माथि कारवाही गरियोस् भन्ने कुरा जेनजी पुस्ताबाटै आउनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले विगतमा धरै राजनीतिक परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भएपनि जेनजी पुस्ताको आन्दोलनले कांग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको बताउनुभयो । उहाँले फरक–फरक विचारलाई समेत सम्बोधन हुने गरी केन्द्रिय समितिको बैठक मार्फत साझा धारणा बनाउने बताउनुभयो । विधानलाई परिमार्जन गरेर पार्टीमा जेनजी पुस्ताको समेत प्रतिनिधित्व गराउने उहाँले उल्लेख गर्नुभयो ।
महामन्त्री शर्माले पार्टीको नियमित महाधिवेशन मंसिर मसान्तभित्र गर्नुपर्ने मत बलियो रहेको बताउनुभयो । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रिय कमिटीले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको समेत उहाँले उल्लेख गर्नुभयो । महामन्त्री शर्माले समयमै उठेका स्वरहरुलाई नसुन्दा ग्रेसफुल ऐक्जिटबाट नेताहरु फोर्सफुल ऐक्जिटमा पुगेको जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति र कांग्रेसको स्वास्थ्य अवस्था दुबैलाई ठिक बनाउने समेत बताउनुभयो ।
महामन्त्री शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताउनुभयो । सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ कि त बुढानीलकण्ठले दिनुपर्ने कि त सरकारले नै अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ । महामन्त्री शर्माले सबै नेताहरुको सम्पत्ति छानबीन गर्नुपर्ने बताउनुभयो । उहाँले आफु एकपटक मात्र सांसद् भएकोले अहिलेसम्म कुनै पनि आयआर्जनको लाभमा संलग्न नभएको धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*