बागमती प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका ६० संरचनामा क्षति

स्वर्णिम खबर
९ आश्विन २०८२, बिहीबार १७:०५

९ असोज, हेटौँडा । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका ६० संरचनामा क्षति पुगेको छ ।
यी मध्ये २६ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४ वटा संरचनामा आंशिक क्षति पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । आन्दोलनका क्रममा भवनहरूको भौतिक संरचनामा मात्र कुल ४७ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
क्षतिग्रस्त संरचनाहरूको पुनस्र्थापनाका लागि ७१ करोड ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । आन्दोलनका क्रममा १ सय ४२ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ भने ५३ वटा चार पांग्रे सवारी साधनमा पूर्ण रुपमा क्षति पुगेको प्रवक्ता तामाङले बताउनुभयो । कुल २१ करोड ५५ लाख रुपैयाँ सवारी साधन तर्फ क्षति भएको उहाँले बताउनुभयो । भौतिक संरचना र सवारी साधनबाहेक, विभिन्न जिन्सी सामानमा २० करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रवक्ता तामाङले प्रदेशका चार वटा यातायात कार्यालयहरू पनि क्षतिग्रस्त भएको जानकारी दिनुभयो । यी चारै यातायात कार्यालयहरू निजी घरहरूमा सञ्चालित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*