सांसद्को स्वकीय सचिव हटाउँदैमा देशको विकास हुँदैनः मन्त्री तामाङ
९ असोज, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले अन्तरिम सरकारले प्रदेश सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।
बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले अन्तरिम सरकारले हालै लिएको निर्णयले प्रदेश सरकार र स्थानीय तहमाथि हस्तक्षेप बढाएको आरोप लगाउनुभयो ।
संविधानले नै संघीय, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पारेको बताउँदै उहाँले अन्तरिम सरकारलाई प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने अधिकार नभएको जिकिर गर्नुभयो । मन्त्री तामाङले संघीय सरकारको पछिल्लो निर्णय संविधानको मर्म र भावना विपरीत रहनुका साथै त्रुटिपूर्ण समेत भएको बताउनुभयो । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर गएर वर्तमान सरकारले कार्य गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । संघीय सरकारको क्याबिनेटको निर्णयले निर्णय क्षमतामाथि नै प्रश्न उठाएको उहाँको भनाई छ ।
संघ सरकारको यस्तो भूमिकाले प्रदेश र स्थानीय तहमाथि हस्तक्षेप बढाएको उहाँले आशंका गर्नुभयो । संविधान संशोधन नगरी संविधानमा उल्लेख भएका विषयमा संघीय सरकारले बोल्न नमिल्नेमा जोड दिदै यस्तो कार्य संघीयतामाथिको हस्तक्षेप भएको उहाँको भनाई थियो । प्रदेशमा कर्मचारी राख्ने वा नराख्ने निर्णय प्रदेश सरकारको हुने मन्त्री तामाङको धारणा थियो ।

मन्त्री तामाङले संघीय सरकारले १० लाख रुपैयाँभन्दा माथिका योजना उपभोक्तामार्फत नगरी ठेक्काबाट गर्ने भनी गरेको निर्णय प्रदेश सरकारले यसअघि नै गरिसकेको बताउनुभयो । वर्तमान सरकारले सुशासन ल्याउँछ भन्नेमा प्रदेश सरकार विश्वस्त नरहेको उहाँले बताउनुभयो । केही कर्मचारी कटौती गरेर संघीय सरकारले खर्च कटौती गर्न नसक्ने दाबी गर्नुभयो । संघीय सरकारले एकातिर कर्मचारी कटौतीको निर्णय गर्ने र अर्कोतिर गठन आदेशमार्फत पुनर्निर्माण समिति गठन गरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । मन्त्री तामाङले सांसद्को स्वकीय सचिव हटाएर सरकारले देशको विकास गर्न नसक्ने बताउनुभयो । २ रुपैयाँ घटाएर दुई हजार खर्च गर्ने प्रवृत्ति अहिलेको सरकारमा देखिएको उहाँले टिप्पणी गर्नुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित आफूले पनि सवारी मर्मत, इन्धन सुविधा नलिएको बताउँदै मन्त्री तामाङले अहिलेको अन्तरिम क्याबिनेटका मन्त्रीहरु बढी स्टण्डबाजीमा लागेको आरोप समेत लगाउनुभयो ।













