क्षतिग्रस्त प्रदेश संरचनाको मुख्यमन्त्री सहित प्रतिपक्षी दलद्वारा निरीक्षण
२ असोज, हेटौँडा । गत भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा बागमती प्रदेशमा क्षतिग्रसत बनेका विभिन्न संरचनाहरूको बिहीबार बागमती प्रदेश सरकार र प्रतिपक्षले छुट्टाछुट्टै निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहितका मन्त्रीहरू र प्रतिपक्षी दल नेकपा माओवादी तथा एकीकृत समाजवादी लगायतका नेताहरूले आन्दोलनबाट क्षतिग्रस्त संरचनाहरूको अनुगमन गरेका हुन् । निरीक्षणको क्रममा मुख्यमन्त्री बानियाँले एक महिनाभित्र क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य सुरु गरिने बताउनुभयो । उहाँले प्राविधिक दृष्टिकोणले क्षतिको मूल्यांकन गरी सोही अनुसार अगाडि बढ्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका नाममा घुसपैठ भएको दाबी गनुृभयो । आन्दोलनमा नाममा राज्यका तीन अंग र गणतन्त्रमाथि नै सुनियोजित आक्रमण भएको आरोप लगाउनुभयो ।
यसैगरि बिहीबार नै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी र एकीकृत समाजवादीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटट्टेलले प्रदेश सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठाउनुभयो । नेता जम्कटेलले कार्यकारी भूमिकामा रहेको प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएको आरोप लगाउनुभयो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले अहिलेको परिस्थितिको सिर्जना हुनुमा राजनीतिक दलहरूको जनताप्रतिको जवाफदेहीता कमजोर भएको कारण रहेको बताउनुभयो ।
आन्दोनको दशौं दिनमा सरकार र प्रतिपक्ष प्रदेश राजधानी हेटौंडाको अवस्था बुझ्न आएका हुन् । जेन जी आन्दोलनका क्रममा बागमती प्रदेशका ९ मन्त्रालय तथा मातहतका कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको थियो ।













