विधिको शासन स्थापित गर्न आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्छः नेता सिंह
२ असोज, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुको उपलब्धि माथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।
बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले जेन जीको प्रदर्शनको आडमा कोईराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पतीमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्ने माग राख्नुभयो । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिनुभयो ।
यसमा सरकार र राजनीतिक दलहरु सतर्क हुनुपर्ने उहाँको भनाइ छ । नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेता सिंहले जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले जेन जीले इतिहास मेटाउन आन्दोलन नगरेको तर जेन जीको आवरणमा अपराधिक मनशाय बोकेका व्यक्तिहरुले यस्तो क्रियाकलाप गरेको आरोव लगाउनु भयो ।
उहाँले ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भुमिकालाई अब अहिले जलाइएकोप्रति दुःख व्यक्त गर्नुभयो । आफूहरु विधिको शासनको लागि लडिरहेको भन्दै उहाँले विधिको शासन स्थापित गर्न विधिअनुसार आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।
नेता सिंहले आगजनी र तोडफोड गर्नेमाथि प्रमाणसहित छानविन गरी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।













