बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

स्वर्णिम खबर
१ आश्विन २०८२, बुधबार १७:०२

हेटौँडा, १ असोज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाउनुभएको छ ।
जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा उल्लेख गर्नुभएको छ । नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरिएको व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।
पाठकले राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताउनुभयो । भदौ २४ गते राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गर्नुभएको हो । पाठक राप्रपाबाट बागमतीको सभामुख बन्नुभएको थियो ।
जेनजीहरूको आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरणलगायत जलेर ध्वस्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*