१२ करोडमा बनेको बागमती प्रदेशसभाको नवनिर्मित भवन एकदिन मै ध्वस्त
२९ भाद्र, हेटौँडा । १२ करोड २९ लाख लागतमा बनेको बागमती प्रदेश सभाको नवनिर्मित भवन जेन जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ ।
गत साउन २७ गते औपचारिक रूपमा सञ्चालनमा ल्याइएको प्रदेश सभा भवनमा जम्मा ४ वटा बैठक मात्रै सञ्चालन भएको थियो । भवन निर्माण गर्न झन्डै साढे चार वर्ष लागेको थियो । भदौ २३ गतेबाट सुरु भएको जेन जी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए । ठुलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै ईंटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेश सभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेश सभाको नयाँ र पुरानो दुवै भवनमा पूर्ण रूपमा क्षति पुगेको छ। कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ ।

प्रदेश सभामा मात्रै २५ देखि ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशसभाका प्रवक्ता मनोज गुप्ताका अनुसार नयाँ र पुराना दुवै भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसमेत जलेर नष्ट भएको छ भने एक करोड भन्दा बढीका प्राविधिक संरचना नष्ट भएका छन् । सचिवालयका ५ वटा दुईपांग्रे, ३ वटा गाडी र २ वटा निजी मोटरसाइकल पूर्णरुपमा क्षति भएका छन् । सामाजिक विकास मन्त्रालयको कम्पाउण्डमा सुरक्षित राखिएको प्रदेश सभाका ३ वटा गाडी पनि आगजनीबाट बच्न सकेनन् ।
प्रदेश सभाभित्र रहेका विभिन्न दलका कार्यालयहरू पनि जलेर नष्ट भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको संसदीय दलका कार्यालयमा रहेका सबै कागजपत्र, फर्निचर र सामग्री खरानी बनेका छन् । नेकपा माओवादी केन्द्र र समाजवादीका दल कार्यालय भने माथिल्लो तलामा भएकाले आंशिक मात्र क्षति भएको छ । प्रदेश सभा सचिवालयका प्रशासन र कार्यव्यवस्थासम्बन्धी सबै कागजपत्र जलेका छन् भने कानून तथा विधेयक शाखामा रहेका विधेयकहरू सुरक्षित रहेको प्रवक्ता गुप्ताले जानकारी दिनुभयो ।

२०७७ मंसिर १० गते मा शिलान्यास गरी १८ महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढे चार वर्षसम्म लागेको थियो । दुई चरणमा ठेक्का लगाएर भवनको काम सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएसँगै भवन २७ साउनबाट सञ्चालनमा आएको थियो। २ सय ५० जना अट्ने सभाहल इपिएस स्यान्डविच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाको समन्वयमा अर्घाखाँची सगुन पारामाउन्ट जेभीले निर्माण गरेको थियो । बागमती प्रदेश सभाका दुबै भवन क्षतिग्रस्त बनेपछि बैठक अनिश्चित बनेको छ ।













