बजेटको लागि मन्त्रालय आउने र मन्त्रीलाई भेट्नेले बजेट पाउँदैनः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
२३ भाद्र २०८२, सोमबार १५:२८

२३ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक सहमतिको आधारमा बजेट दिने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सोमबार हेटौंडामा भएको स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले पालिकाको आवश्यकता र प्राथमिकताको आधारमा सवर्दलीय सहमतिमा बजेट दिने बताउनुभयो । आगामी दिनमा मन्त्रालय आउने र मन्त्रीलाई भेट्नेलाई बजेट नदिने समेत उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचित जनप्रतिनिधिले छनोट गरेका योजनालाई साझा योजना मानेर बजेट विनियोजन गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले सबै तहमा गरिने बजेट विनियोजनमा एकरुपता ल्याउन सरकार लागिपरहेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले भ्रष्टचार मूक्त र सुशासनयुक्त अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । पारदर्शीता र जवाफदेही सरकार चलाउनको निम्ति १० लाख भन्दा माथिका सबै योजना टेण्डर प्रक्रिया मार्फत गर्ने नीति लिएको समेत उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले आर्थिक लाभको लागि राजनीति गर्न नहुने बताउनुभयो । जनताको सोझो चिताएर काम गर्न पनि उहाँले स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।


ंमुख्यमन्त्री बानियाँले गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । स्थानीय तहले दिने डेलिभरीबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सकिने उहाँको भनाई छ । जेन जीको प्रदर्शन तर्फको इंगित गर्दै मुख्यमन्त्री बानियाँले असीमित आवश्यकता र सीमित स्रोत साधन बीच तालमेल मिल्न नसक्दा विभिन्न समुहको नाममा आन्दोलन भइरहेको बताउनुभयो ।
सीप र तालिमसहितको बिउँ पुँजी दिएर जनताको प्रत्यक्ष अनुभुति गर्न सक्ने गरी स्थानीय तहले पनि काम गर्नुपर्ने उहाँको धारणा छ । मुख्यमन्त्री बानियाँले स्थानीय तहले बिउँ पुजीको व्यवस्था गरे, त्यसमा प्रदेश सरकारले पुँजी थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक सञ्जालको माध्यमबाट समाज र गणतन्त्रलाई कमजोर पार्ने तत्वहरु विरुद्ध एकजुट हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
कार्यक्रममा मकवानपुरको १० वटै पालिकाहरुले प्रस्तुतीकरण गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा १० वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान र प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*