हेटौँडामा मनाईयो निजामती सेवा दिवस
२२ भाद्र, हेटौँडा । २२ औं निजामती सेवा दिवस हेटौंडामा पनि मनाईएको छ ।
‘व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारा सहित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा निजामती सेवा दिवस २०८२ मनाइएको हो । दिवसको अवसरमा आइतबार बिहान प्रभातफेरी समेत निकालिएको थियो ।
हेटौंडा ४ स्थित भुटनदेवी मा.वि को प्राङगणबाट निकालिएको प्रभातफेरी सिमाचोक, बुद्धचोक, मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्राङगणमा पुगेर समापन भएको हो । समापन कार्यक्रममा प्रदेशका प्रमुख सचिव भुपाल बरालले निजामती सेवा दिवसलाई औपचारिकतामा मात्र सीमित राख्न नहुने बताउनुभयो ।
उहाँले आज दिवस मनाउँदै गर्दा बाकी ३ सय ६४ दिन जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो । कर्मचारीहरुले कार्यशैलीलाई प्रभावकारी बनाएर दिवसको सार्थकतालाई पुष्टि गर्नुपर्ने उहाँको भनाई छ । प्रमुख सचिव बरालले निजामती कर्मचारी प्रति रहेको गलत धारणालाई प्रभावकारी र पारदर्शी कार्यसम्पादन मार्फत् जवाफ दिनुपर्ने बताउनुभयो ।
प्रभातफेरीमा विभिन्न मन्त्रालयका सचिवहरु, बागमती प्रदेश सचिवालयका सचिव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायत निजामती कर्मचारीहरुको उपस्थिति रहेको थियो । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको वि.स.२०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ ।













