सबै पशुलाई खोप लगाउन सकिने अवस्था छैनः मन्त्री पौडेल
१८ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणको लागि जाडोयाममा पनि खोप लगाउने भएको छ ।
भदौ १ गतेदेखि ७ गतेसम्म भएको सप्ताहव्यापी खोप अभियानमा छुटेका ठाउँमा जाडोयाममा खोप लगाइने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ । दोहो¥याएर पुनः अभियान सञ्चालन गर्दा लम्पी स्किन रोगलाई रोकथाम गर्न सकिने कृषि तथा पशुपन्क्षी विकास मन्त्री मधुकुमार पौडेलले बताउनुभयो ।
मकवानपुर र चितवनमा बढी पशु भएकोले अभियान पनि त्यही स्थानमा केन्द्रित भएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले खोप अभियान सञ्चालनको क्रममा केही गुनासोहरु पनि आएको उल्लेख गर्नुभयो । खोपकर्ताहरुले सुविधाजनक ठाउँमा मात्र गएर खोप लगाएको र दुर्गम स्थलमा नगएको भन्ने जनगुनासोलाई आगामी दिनमा समाधान गरिने समेत मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । पशुको जति संख्या छ, ति सबैमा खोप लगाउने अवस्था अझैपनि बनि नसकेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले यस वर्ष चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ ।













