चिठ्ठा विधेयक रोकियो, एमालेको प्रश्नः सरकारको प्राथमिकता खानेपानी विधेयक कि चिठ्ठा विधेयक ?
१७ भाद्र, हेटौँडा । सत्ताधारी दलहरुबीच सहमति जुटन् नसक्दा बागमती प्रदेशसभामा चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाललाई रोकिएको छ ।
मंगलबार विधेयकलाई पारित गर्ने तयारी भएपनि सत्तारुढ दल एमालेको असन्तुष्टिका कारण प्रदेशसभा बैठकको कार्यसूचीबाट चिठ्ठा विधेयकको प्रस्ताव हटाइएको थियो । सोमबार बसेको बैठकमा विधेयकको सम्बन्धमा प्रदेश मामिला समितिले गरेको प्रतिवेदन माथि नै छलफल समेत प्रारम्भ भएको थियो । उक्त छलफलको क्रममा नेकपा एमालेका सांसद् भारती पाठक, कृष्ण सिलवाल लगायतका सांसद्ले चिठ्ठा विधेयक प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
सरकारको अहिलेको प्राथमिकता खानेपानी विधेयक कि चिठ्ठा विधेयक भन्दै उनीहरुले प्रश्न गरेका थिए । सुशासनको नारा दिने सरकारले चिठ्ठा विधेयक ल्याउनु उचित नभएको उनीहरुले बताएका थिए । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियले भने विधेयकका प्रतिवेदन अध्ययन गर्न बाँकी रहेकाले हाललाई रोकिएको बताउनुभयो ।
विधेयकका विविध समस्याहरू हल गर्न समितिले प्रतिवेदनमा केही विषयहरू सम्बोधन गरे पनि थप छलफल गर्न बाँकी रहेको उहाँको भनाइ छ । यसअघि प्रक्रिया मिचेर पारित गरिएको विधेयकलाई तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । गम्भीर कानुनी त्रुटि र संघीय कानुनसँग बाझिने प्रावधान भएकाले दुई वर्षदेखि विधेयक संसदमा होल्ड भएको थियो । समितिबाट व्यापक संशोधनसहित प्रदेश सभामा पुनः प्रस्तुत भएको थियो ।













