बागमती प्रदेशसभा शुन्य समयः प्रदेशसभा हल राम्रो भएपनि सिट व्यवस्थापन भएन
१७ भाद्र, हेटौँडा । बागमती प्रदेश सांसद्हरुले मंगलबार पनि आफ्नो निर्वाचन क्षेत्रका समस्या लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रदेशसभा बैठकको शुन्य समयमा बौल्दै १० जना प्रदेश सांस्दहरुले बागझोरामा पुल हाल्नदेखि देखि प्रदेशसभा भवनभित्रको सिट व्यवस्थापन गर्नसम्मको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद् ओमकुमारी श्रेष्ठले संघीय राजधानी र प्रदेश राजधानी जोड्ने बाटो धेरै भएपनि एउटा पनि बाटो सहज नभएको बताउनुभयो । बागझोरामा प्रदेश सरकारले संघीय सरकारको मात्र मुख ताकेर बस्न नहुने उहाँले बताउनुभयो । सांसद् श्रेष्ठले प्रदेश सरकारले आफ्नै पहलमा पुल राखेर भएपनि यात्रा सहज बनाउनुपर्ने माग गर्नुभयो ।
त्यसैगरी सांसद् ईश्वर सापकोटाले सम्बिन्धत निकायले किसानलाई तुरुन्त मलको आपूर्ति गर्नुपर्ने बताउनुभयो । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य बस्तुहरुको मुल्य वृद्धिले जनताहरु मारमा परेको उहाँले बताउनुभयो । सांसद् सापकोटाले कालोबजारी अन्त्य गरी जनतालाई सुविधा हुने गरी सुपथ मुल्यका पसलहरु सञ्चालन गर्नुपर्ने माग गर्नुभयो । चाडपर्वको समयमा यातायातको व्यवस्था सहज बनाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी, अर्का सांसद् प्रेमभक्त महर्जनले १० लाख भन्दा माथिका योजना टेण्डरमा लैजाने निर्णयप्रति असन्तुष्टि जनाउनुभयो । उपभोक्त समितिबाट पनि धेरै राम्रा कामहरु हुने गरेको उहाँले बताउनुभयो । सांसद् महर्जनले सांस्कृतिक सम्पदाहरुको काम टेण्डरबाट हुँदा मौलिकता गुम्न सक्ने जिकिर गर्नुभयो । सांस्कृतिक सम्पदा भएको स्थानहरुमा टेण्डरबाट नभई उपभोक्त समितिबाट काम हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै सांसद् मदुकुमार श्रेष्ठले प्रदेशसभा हल राम्रो भएपनि सिट व्यवस्थापन असहज भएको बताउनुभयो । सिटमा बस्न अप्ठ्यारो हुँदा ढाडमा समस्या हुने गरेको भन्दै उहाँले सचिवालयको ध्यानाकर्षण गराउनुभयो । सांसद् श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले विगत देखि विभिन्न संरचनाहरु बनाउने प्रयास भएको उल्लेख गर्नुभयो ।
सांसद् यमुनादेवी श्रेष्ठले विपद् व्यवस्थापनमा सरकारले काम गर्न नसकेको बताउनुभयो । २०८१ असोज ११ र १२ गते आएको बाढीले चन्द्रागिरी नगरपालिकाको वडा नं. २ पहिरोको जोखिममा रहेको विषय उठाउँदा पनि सरकारले ध्यान नदिएको उहाँले बताउनुभयो ।

यसैगरी सांसद् बसन्त मानन्धरले प्रदेश सरकारले सबै प्रकारको जमिनको उपयोग गर्दैै श्रम र उत्पादन मार्फत् रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो । वर्षात्को समयमा काठमाडौँको वनस्थली क्षेत्रमा हुने डुबानको समस्यालाई यथाशिघ्र समाधान गर्न विपद् व्यवस्थापन कोषबाट बजेटको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । सांसद् मानन्धरले भाषा ऐनको प्रभावकारी कार्यान्वयन गर्न आधारभुत तहसम्मको शिक्षा मातृभाषामा अध्ययन गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसद् कृष्ण सिलवालले प्रदेश सरकारको अहिले रहेको प्रशासनिक भवन उपयुक्त स्थानमा नै रहेको बताउनुभयो । हेटौंडाको ऐतिहासिकतालाई नष्ट गर्ने गरी अन्यत्र प्रशासनिक भवन स्थानान्तरण गर्ने कार्य उपयुक्त नरहेको उहाँको धारणा छ ।
अर्का सांसद् शान्ता ढकालले राजनीतिक अस्थिरता बागमती प्रदेश सरकारको प्रमुख समस्याको रुपमा रहेको बताए । नेतृत्वको संकट समाधान नगरी प्रदेशको समृद्धि नहुने उहाँले बताउनुभयो । सरकारमा नीतिगत विचलन र प्रशासनिक अराजकता देखिएको उहाँले उल्लेख गर्नुभयोे । मन्त्रालयहरुबीच तालमेलको अभाव, राजनीतिक हस्तक्षेप, विपद् व्यवस्थापनमा ढिलाई हुँदा प्रदेशको अनुभुति गर्न नसकिएको उहाँले बताउनुभयो । त्यसैगरी प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले र नुुरज बज्रचार्यले मध्यपुर ठिमी नगरपालिका वडा नं.९ स्थित नीलबराही मन्दिर परिसरमा केही समयदेखि पहिरो जाँदा सास्ती भएको बताएका छन् । पहिरो नियन्त्रणको लागि स्थानीय श्रमदानबाट भएको काम सरकारको टाउँको दुखाई विषय भइरहेको उनीहरुले बताए ।

त्यसैगरी आजकै बैठकमा सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य हेरफेर तथा नयाँ मनोनयनको प्रस्ताव प्रस्तुत गर्दै सभाले अनुमोदन गरेको घोषणा गर्नुभयो ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिमा रहेका गोविन्द लम्साल, गीता गुरुङ, रामकृष्ण चित्रकार र सविता खड्कीको स्थानमा छिरिङ् दोर्जे लामा, पुकार महर्जन, मिनकृष्ण महर्जन र शान्ता ढकाललाई राख्ने प्रस्ताव गर्नुभएको थियो । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
त्यस्तै, प्रदेशसभा नियमावली २०७४ को नियम (१५०) बमोजिम प्रदेश मामिला समितिमा बहादुर सिंह लामा तामाङ, सुरचन्द्र लामिछाने, कुन्दन राज काफ्ले र मदु कुमार श्रेष्ठलाई मनोनयन गरिएको छ ।
सार्वजनिक लेखा समितिमा मिनकृष्ण महर्जन र श्यामकुमार खड्का, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा हरिप्रभा खड्कीलाई मनोनयन गरिएको छ ।
यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिमा बिमलचन्द्र ठकुरीलाई मनोनयन गरिएको छ । यी सबै प्रस्तावलाई आजको प्रदेश सभा बैठकले अनुमोदन गरेको हो ।
बागमती प्रदेश सभाको अर्काे बैठक सुचना जारी नभएसम्म्को लागि स्थगित भएको छ ।













