विवादित चिट्ठा विधेयकको प्रतिवेदन पेस
१५ भाद्र, हेटौँडा । बागमती प्रदेशसभा बैठकमा विवादित चिट्ठा विधेयकको प्रतिवेदन पेस भएको छ ।
आइतबारको प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो । समितिमा दफावार छलफल भई संशोधनसहित पारित गरेको उक्त विधेयकको प्रतिवेदन सभापति लामाले पेस गर्नुभएको हो । उक्त प्रतिवेदन माथि आगामी बैठकमा छलफल हुनेछ । २०८० वैशाख १२ गते बसेको प्रदेशसभा बैठकले चिट्ठा विधेयक पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएको थियो ।
तत्कालिन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले गम्भीर त्रुटि औल्याउँदै २०८० जेठ ७ गते प्रदेशसभामा फिर्ता पठाएको थियो । २०८२ जेठ ८ मा बसेको प्रदेशसभाको बैठकले ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफल र संशोधनको लागि समितिमा पठाएको थियो । त्यसअघि पनि सो विधेयक संसदमा पठाउन पटक–पटक प्रयास गरिएको थियो । ‘कालो धनलाई सेतो बनाउन’ मद्दत पुर्याउने गरी कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको भन्दै यसको आलोचना भएपछि सरकार रोकिएको थियो ।
२०८० असोज १५ मा बसेको प्रदेशसभा बैठकमा चिट्ठा विधेयक ‘चोर बाटो’ बाट पुनर्विचारको लागि प्रस्ताव प्रस्तुत गर्न खोजिएको थियो । त्यतिबेलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गर्दै रोष्टम घेराउ गरेका थिए । तत्कालीन समयमा एमाले प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको रूपमा रहेको थियो । एमालेको अवरोध पछि केही समय उक्त विधेयक संसदमा नै रोकिएको थियो । हाल एमालेको सहमतिमा नै उक्त विधेयक अघि बढाइएको हो । तत्कालीन समयमा माओवादीको नेतृत्वमा उक्त विधेयक समितिमा प्रवेश पाएको थियो । सो विधेयक २०८० वैशाख १२ मा एकै दिनमा संसदमा पेस गरेर पारित समेत गरिएको थियो ।













