विपद्को पूर्व तयारी तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन निर्देशन
१२ भदौ, हेटौँडा । बागमती प्रदेश सुरक्षा समितिले विपद्को पूर्व तयारी तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन उच्चस्तरीय एकीकृत संयन्त्र र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।
बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको अध्यक्षता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष उपस्थितिमा बसेको बैठकले सुरक्षाका सम्पूर्ण निकायलाई पूर्वतयारीसहित प्रतिकार्यमा जुट्न निर्देशन दिएको हो । बैठकले शान्ति सुरक्षाको दृष्टिले प्रदेशभर अवैध रुपमा रहेका हातहतियार नियन्त्रणमा ल्याउन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसका लागि बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई आवश्यक सूचना जारी गरी कानूनी प्रक्रिया अघि बढाउन लेखी पठाइनेछ ।
यस्तै, लागुऔषध दुरुपयोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै गाँजा, चरेश र अफिम अत्याधिक हुने क्षेत्रलाई लक्षित गरी विद्यालयस्तरदेखि स्थानीय समुदायसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । यसका लागि स्थानीय तहहरुसँग सहकार्य र समन्वय गर्ने समितिको निर्णय छ । आगामी दशैं, तिहार, छठलगायतका प्रमुख पर्वलाई लक्षित गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरुलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
चाडबाडका अवसरमा हुने भीडभाड, यात्रु आवागमन र बजार व्यवस्थापनमा विशेष ध्यान दिने व्यवस्था मिलाइने समितिले जनाएको छ । त्यसैगरी, सामाजिक सञ्जालमार्फत नियोजित रुपमा भ्रम फैलाउने, जातीय वा धार्मिक सद्भाव खलल गर्ने, समाजमा द्वन्द्वको अवस्था सिर्जना गर्ने गतिविधिमाथि निरन्तर निगरानी र विश्लेषण गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तो गतिविधि गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन बागमती प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धानका प्रादेशिक कार्यालयहरुले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे बिफ्रिङ गरेको थिए ।
बैठकमा नेपाली सेना मध्यपृतना हेडक्वाटरका पृतनापति हरेन्द्र पाठक, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं. गढीमाई बाहिनी मुख्यालयका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालयका अनुसन्धान निर्देशक संजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्रालय शान्ति सुरक्षा महाशाखा अधिकृत पदम ओझा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल लगायतको उपस्थिति रहेको थियो ।













