मुख्यमन्त्रीको प्रतिबद्धताः विकासे योजनालाई रोक्छौँ तर स्वास्थ्यमा बजेट कमी हुन दिँदैनौ
१२ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास निर्माणको योजनालाई रोकेर भएपनि स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेको उहाँको भनाई छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा बिहिबार भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले बजेट अभावकै कारण स्वास्थ्य क्षेत्रसंग सम्बन्धित कार्य नरोकिने बताउनुभयो ।
प्रतिष्ठानको कुलपति समेत रहनुभएको मुख्यमन्त्री बानियाँले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको दाबी गर्नुभयो । डोरमणि पौडेल मुख्यमन्त्री र आफु प्रमुख प्रतिपक्षी दलको नेता प्रदेश सभाबाट सर्वसम्मत रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा राजनीतिक गर्न नहुने उहाँले बताउनुभयो ।
उहाँले प्रदेशकै गौरवको योजनाका रुपमा रहेको प्रतिष्ठानलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमहरूलाई एकै छानामुनि, एकीकृत भवनबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले स्वीकृत भएको २ सय शैयाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी तत्काल सुरु गर्न निर्देशन दिनुभयो । निर्माणाधीन बेसिक साइन्स भवनको काममा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै उहाँले तोकिएको समयमा र सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई कानून अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।
त्यसैगरी प्रतिष्ठानका संस्थापक कुलपति एवम् प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर कुनै पनि राजनीतिक विवाद नरहेको दाबी गर्नुभयो । उहाँले प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम ल्याउनका लागि सबैको सामूहिक प्रयास अतुलनीय रहेको बताउनुभयो । उहाँले बहानाबाजी गरेर प्रतिष्ठानको साख गिराउने कार्य कसैले पनि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीपराज ज्ञवालीले प्रतिष्ठानको २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन, र अस्पतालको जग्गा संरक्षण लगायतका अल्पकालीन तथा दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको थियो ।

अन्तरक्रियामा स्वास्यमन्त्री किरण थापा, नेकपा एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँ लगायतको उपस्थिती थियो ।
हाल प्रतिष्ठानमा बि.फार्मेसी, ल्याब मेडिसिन, बिपिएच, र बीएस्सी नर्सिङ जस्ता स्नातक तहमा ३ सय ५८ जना विद्यार्थी अध्ययनरत छन् । यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा आयोगबाट एमबीबीएस कार्यक्रमका लागि ५० सिटको थप स्वीकृति प्राप्त भएको छ । प्रतिष्ठानमा एमडी तहमा ७ विभिन्न विषयमा ८ जना विद्यार्थी अध्ययनरत छन् ।













