‘इन्धनको लागि हेल्मेट अनिवार्य’ अभियानलाई कार्यान्वयन गर्न निर्देशन

स्वर्णिम खबर
११ भाद्र २०८२, बुधबार १६:२७

११ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि सरोकारवाला निकायलाई ठोस कदम चाल्न निर्देशन दिनुभएको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उहाँले सवारी दुर्घटना नियन्त्रणका लागि सबै निकायलाई समन्वयात्मक तरिकाले परिचालित भई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभएको हो। बैठकमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका तर्फबाट प्रदेशभित्र हुने सवारी दुर्घटनाको अवस्था, कारण र चुनौतीबारे संक्षिप्त प्रस्तुतीकरण गरिएको थियो । मुख्यमन्त्री बानियाँले सवारी चालकमा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, हेल्मेटको अनिवार्यता कडाइका साथ पालना गर्ने र ‘इन्धनको लागि हेल्मेट अनिवार्य’ अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा जोड दिनुभयो ।
बैठकमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन बागमती प्रदेशलाई पत्राचार गरी इन्धन वितरणका क्रममा हेल्मेट अनिवार्य गर्ने अभियान सुरु गर्न आग्रह गर्ने निर्णय पनि भएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सो अभियानको निगरानीमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ । साथै पेट्रोल पम्पहरुमा हेल्मेट अनिवार्य सम्बन्धी सन्देशमूलक बोर्ड राख्ने व्यवस्था मिलाइने पनि निर्णय गरिएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसियसन बागमती प्रदेशका अध्यक्ष शुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्मा लगायत उपस्थित रहनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*