थाहा नगरपालिका ‘ पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषित’

स्वर्णिम खबर
८ भाद्र २०८२, आईतवार १८:३८

८ भदौ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ ।
पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभएको हो ।
‎घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो । मकवानपुर जिल्लामा मात्र नभई बागमती प्रदेशमै थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको उहाँले दाबी गर्नुभयो ।
‎कार्यक्रममा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा प्रशंसायोग्य कार्य गरेको बताउनुभयो । यसैगरी प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्धार समेत गरिएको बताउनुभयो । नागरिकहरुलाई सहज ढंगले उपचार पाउन भन्दै बागमती प्रदेश सरकार अगाडि बढेको बताउदै उहाँले प्रदेश भित्रका अस्पताल हरुलाइ सुधार गर्दै प्रदेशभरका प्रत्यक वडामा बर्थिङ सेन्टर स्थापना गर्दै सुरक्षित सुत्केरीको अभियानमा प्रदेश सरकार लागि परेको र सुत्केरी आमाहरुलाइ हवाइ उद्दार कार्यक्रम समेत प्रदेश सरकारले सुरु गरेको बताउनुभयो ।
‎पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो ।
‎१२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । गत आर्थिक वर्ष थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए । थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थाहरु छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*