राजा महाराजाको सेवा गर्न मुख्यमन्त्री भएको होइनः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
५ भाद्र २०८२, बिहीबार १८:१८

५ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफु राजा महाराजाको सेवा गर्नको लागि मुख्यमन्त्री नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहिबार भएको तीज विशेष कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले आफुलाई जनताले जनताकै सेवा गर्नको लागि पठाएको बताउनुभयो । राजनीति नाफा नोक्सानको लागि नगरिने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले नाफा नोक्सानको लागि व्यापार गर्नुपर्ने र आफुले पनि त्यही गरेको धारणा राख्नुभयो । विगतदेखि समाजमा अन्यायमा परेकाहरुलाई न्याय दिन आफु राजनीतिमा होमिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले जनताप्रति जवाफदेही र निष्ठावान भएर मन्त्रीहरुले पनि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले सबै धर्मप्रति समभाव राख्ने स्पष्ट पार्नुभयो । धर्म व्यक्तिले धारणा गर्ने भएकोले जात र धर्मको आधारमा राजनीति गर्न नहुने उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले विगत देखि नै कांग्रेसले मानवताको आधारमा राजनीति गर्दै आएको बताउनुभयो । मानवता कै सिद्धान्तमा अडिग रहेर कांग्रेसकै नेतृत्वमा सशस्त्र जनयुद्ध अन्त्य भएर मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय नेपाली कांग्रेसमा झुट र भ्रमको राजनीति बढ्न थालेको बताउनुभयो । निर्वाचन परिणामलाई नस्वीकारेर पार्टीलाई कमजोर बनाउने गतिविधि कसैले पनि गर्न नहुने उहाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले महिलाको अस्तित्वलाई संविधानले स्वीकार र अंगीकार गरेको बताउनुभयो । उहाँले महिलाहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा लाग्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री बानियाँले संविधान संशोधन मार्फत् नेतृत्व तहमा महिलाको उपस्थितिलाई सुनिश्चित गर्न पहल गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे, खानेपानी, उर्जा तथा सिचाई मन्त्री कृष्णकुमार तामाङ, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*