भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष

स्वर्णिम खबर
५ भाद्र २०८२, बिहीबार १५:३७

५ भदौ, हेटौँडा । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश पाएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक नेपालको अभिन्न अंग भएको बताउनुभयो । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता नेपालका अभिन्न अंगमाथि नेपालको स्वीकृतबिना सीमा व्यावार गर्ने भारत र चीनबीचको सहमतिको आफूहरु विरोध गर्ने बताउनुभयो ।
यसैगरी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताउनुभयो । उहाँले नेपालको सहभागिता बिना भारत र चीनबीच भएको सहमति स्वीकार्य नहुने भन्दै यस विषयमा उग्र राष्ट्रवाद देखाउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले यस विषयमा नेपालका सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नुहने सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतकीचको उक्त सम्झौताले नेपाल आमालाई दुखिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाललाई जानकारी समेत नदिई सीमा व्यापार गर्ने सहमतिप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कुटनीतिक र राजनीतिक पहल अगाडि बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।
यता परराष्ट्र मन्त्रालयले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको सहमति भएलगत्तै परराष्ट्र मन्त्रालयले प्रेस नोट निकालेर यसबारे प्रष्ट पारेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले अस्ति नेपाललाई थाहै नदिएर लिपुलेक नाका प्रयोगबारे सहमति गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*