१ लाख २० हजार पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइने
३० श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही भाद्र १ गतेदेखि ७ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका १ मा एक कार्यक्रमका बीच कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
यस वर्षको अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले जानकारी दिनुभयो । सबैभन्दा बढी चितवनको पशु सेवा कार्यालयलाई ३० हजार डोज खोप उपलब्ध गराइएको छ । त्यसैगरी, जिल्ला पशु सेवा कार्यालय मकवानपुरका लागि २५ हजार, काभ्रेलाई १४ हजार, नुवाकोट र सिन्धुलीलाई १२÷१२ हजार, धादिङलाई ११ हजार, ललितपुरलाई १० हजार र दोलखाको पशु सेवा कार्यालयलाई ६ हजार डोज खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
खोपको व्यवस्थापन संघीय सरकारले गर्नेछ भने खोप लगाउन लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने डाक्टर प्रधानले बताउनुभयो । बागमती प्रदेशमा असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण ७४ पशुचौपायाको मृत्युभएको छ । १ हजार ६ सय ३३ पशुमा रोगको संक्रमण देखिएको छ ।
विशेषगरी मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा यो रोगको संक्रमण बढी देखिएको डा. प्रधानले बताउनुभयो । यो रोग लागेमा पशुको दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो । बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।













