द्रुतमार्गको काम तोकिएकै समयमा सकिनेमा मन्त्रीकै आशंका
२९ श्रावण, काठमाडौँ । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई÷मधेस द्रुतमार्गको काम सकिनेमा आशंका व्यक्त गर्नुभएको छ ।
बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताउनुभयो ।
उहाँले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने बताउनुभयो । मन्त्री राईले सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढंगले अघि बढिरहेको बताउनु भयो ।













