आफ्नो नेतृत्वको सरकार गरिब जनताको सरकार होः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
२९ श्रावण २०८२, बुधबार १५:३८

२८ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकार गरिब जनताको भएको बताउनुभएको छ ।
बुधबारको प्रदेशसभामा बैठकमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले गरिब जनता प्रति सरकार जिम्मेवार भएर लाग्ने बताउनुभयो । सुशासन, पारदर्शी र जवाफदेही सरकारको मुख्य उद्देश्य भएको उहाँले दाबी गर्नुभयो । विगतका सरकारहरुले गरेका राम्रा कामहरुलाई वर्तमान सरकारले प्राथमिकतामा राख्ने समेत मुख्यमन्त्री बानियाँले बताउनुभयो । विपद्को कारण भएका क्षतिहरुलाई कार्यतालिका नै बनाएर पुनर्निमाण गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले संघ र स्थानीय सरकारसंग समन्वय गरेर विपद्बाट  बासस्थान गुमाएकाहरुलाई तत्काल पुनर्वासको व्यवस्था गरिने समेत बताउनुभयो । मुख्यमन्त्री बानियाँले आफु बोली र व्यवहार संगसंगै गर्ने व्यक्ति भएको बताउनुभयो । हरेक दिन, हरेक हप्ता, हरेक महिना जनताले महसुश गर्ने गरी तथ्याङ्कको आधारमा काम गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले सुशासन र पारदर्शीताको नमुना मुख्यमन्त्री कार्यालय र निवासबाट सुरु गरिने बताउनुभयो । विगतका मुख्यमन्त्रीहरुले कार्यालय र निवासमा गरेको खर्चहरुमा ५० प्रतिशत कटौती गर्ने समेत उद्घोष गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा बापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाइने बताउनुभयो । आगामी दशैँ अगाडि नै आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको घर आवास निर्माण गर्ने उहाँले घोषणा गर्नुभयो ।
आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएर निराशा बनेका सीमान्तकृत जातजाति वनकरिया, थामी, चेपाङ, जिरेल, पहरी लगायतका प्रदेशभित्रका पछाडि परेका वर्गलाई सरकारले अध्ययन छात्रवृत्ति वितरण गर्ने समेत उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*