बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत प्राप्त

स्वर्णिम खबर
२८ श्रावण २०८२, मंगलवार २०:२४

२७ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
श्रावण २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । मुख्यमन्त्री पदमा रहिरहन बानियाँलाई ५६ सांसदको समर्थन आवश्यक पर्नेमा बानियाँको पक्षमा ६३ मत परेको छ । १ सय १० सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री बानियाँलाई नेपाली कांग्रेसका ३६ र नेकपा एमालेका २७ गरि ६३ सांसदले मत दिएका हुन् । मंगलबारको बैठकमा उपस्थित ९२ प्रदेश सभा सदस्यमध्ये २२ जनाले विपक्षमा मत दिए भने ७ जना तटस्थ रहे ।
प्रदेशसभामा बोल्दै मुख्यमन्त्री बानियाँले अब इन्द्रयात्रा सुरु भएको बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले जात्रा देखाउने नभई यात्रा गर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले ठगी खाने र मागी खानेको पक्षमा सरकार नरहने समेत जिकिर गर्नुभयो । उहाँले नेपालमा गणतन्त्र नेपाली कांग्रेस बिना सम्भव नरहेको बताउनुभयो । आफ्नै दलभित्र पनि फरक मन र विचार राख्न पाउने पार्टी कांग्रेस मात्र भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले बाहिर आए जस्तो नेपाली कांग्रेसमा कुनै वादविवाद नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले आफ्नै पार्टीका संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव पास गरेर संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका बानियाँले अझै सरकारलाई पूर्णता दिन बाँकी छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा हालसम्म मुख्यमन्त्रीसहित ८ जना मन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसको भागमा परेका ६ वटा मन्त्रालयमा अझै जिम्मेवारी तोक्न बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*